Logo

बागमती पेज

१६ माघ २०८२, शुक्रबार

काठमाडौँ -४ मा गगनको इन्ट्री: सचिनको चुनावी अभियान अघि बढ्दै


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा पार्टीको सभापति बनेपछि पहिलोपटक भोलि काठमाडौँ क्षेत्र नं. ४ मा सार्वजनिक कार्यक्रममार्फत उपस्थित हुने भएका छन्।

लगातार तीन निर्वाचन जितेर आफ्नो राजनीतिक पहिचान स्थापित गरेको काठमाडौँ–४ मा सभापति थापाको यो आगमनलाई आगामी निर्वाचनको औपचारिक सुरुवातका रूपमा हेरिएको छ। नेपाली कांग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नं. ४ ले आयोजना गर्न लागेको निर्वाचन परिचालन मूल समिति घोषणा कार्यक्रममा सभापति थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

आगामी निर्वाचनका लागि काठमाडौँ–४ बाट सचिन तिमल्सेनालाई उम्मेदवारका रूपमा अघि सारेको कांग्रेसले यही कार्यक्रममार्फत चुनावी संगठनलाई सक्रिय बनाउने तयारी गरेको छ। उम्मेदवार तिमल्सेनाको उपस्थितिमा हुने यो कार्यक्रमलाई कांग्रेसको चुनावी रणनीति र संगठन विस्तारको महत्वपूर्ण कदम मानिएको छ।

सभापति थापाले आफ्नो राजनीतिक इतिहास र सुखद स्मरण जोडिएको यस क्षेत्रमा उम्मेदवार तिमल्सेनालाई जिताउने लक्ष्यसहित स्पष्ट सन्देश र निर्देशन दिने अपेक्षा गरिएको छ।

कार्यक्रम भोलि बिहान ८ बजे बुढानिलकण्ठ–१० स्थित कार्की इभेन्ट्समा आयोजना हुनेछ। कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रम २०८२ साल माघ १७ गते शनिबार हुने बताइएको छ।