Logo

मेघनाथ पहाडी

२१ माघ २०८२, बुधबार

कृषिमा औजारिकरण: विषादीमुक्त उत्पादन देखि बजारीकरण सम्म


काठमाडौं । कास्की क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा निर्वाचनमा होमिएका युवा वैज्ञानिक डा. निरञ्जन कोइरालाले कृषि र किसान केन्द्रित स्पष्ट तथा व्यवहारिक एजेन्डा सार्वजनिक गरेका छन् ।

“कृषिमा औजारिकरण, जैविक मलको स्वदेशी उत्पादन, विषादीमुक्त तरकारी तथा फलफूल उत्पादन र किसानलाई बजारको सुनिश्चितता” उनको मुख्य प्राथमिकता रहेको छ।

वैज्ञानिक पृष्ठभूमि र नीतिगत बुझाइ भएका डा. कोइरालाले परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्दै किसानको लागत घटाउने र आम्दानी बढाउने खाका अघि सारेका छन्। उनका अनुसार कृषिमा औजारिकरणले श्रमको बोझ कम गर्नुका साथै उत्पादन वृद्धि गर्न निर्णायक भूमिका खेल्छ।

यसैगरी, जैविक मलको स्वदेशी उत्पादन मार्फत किसानलाई महँगो र आयातित रासायनिक मलको निर्भरता अन्त्य गर्ने, माटोको उर्वराशक्ति जोगाउने र दीर्घकालीन खाद्य सुरक्षामा योगदान पुर्‍याउने उनको धारणा छ।

विषादीमुक्त तरकारी तथा फलफूल उत्पादनलाई प्राथमिकतामा राख्दै जनस्वास्थ्य र वातावरण संरक्षणलाई पनि सँगसँगै अघि बढाउने नीति उनले अघि सारेका छन् ।

सबैभन्दा महत्वपूर्ण पक्ष, किसानले उत्पादन गरेको वस्तुको बजार सुनिश्चितता हो। डा. कोइरालाले किसान–उत्पादक र बजारबीच प्रत्यक्ष समन्वय, सहकारी तथा स्थानीय बजार प्रणाली सुदृढीकरण, र मूल्य स्थिरता सुनिश्चित गर्ने नीतिगत पहल संसदबाट गर्ने प्रतिबद्धता जनाएका हुन् ।

यसअघि पनि वैज्ञानिक सोच, सुशासन, शिक्षा–अनुसन्धानको जोड, र जनताको दैनिक जीवनसँग जोडिने नीतिगत सुधारका विषयमा निरन्तर आवाज उठाउँदै आउनु भएका डा. कोइराला बौद्धिक व्यक्तित्वका रूपमा मात्र होइन, जनताको घर–आँगनमा सहज पहुँच राख्ने नेताका रूपमा परिचित छन् ।

चुनावी माहोल तातेको यस समयमा उनको एजेन्डाले कास्की मात्र होइन, देशकै कृषि र अर्थतन्त्र रूपान्तरणको सम्भावना बोकेको भन्दै स्थानीय मतदातामा सकारात्मक सन्देश प्रवाह भइरहेको छ।

वैज्ञानिक सोच संसदमा, किसानको सम्मान व्यवहारमा यही मूल नारासहित डा. निरञ्जन कोइराला कास्की–२ बाट मतदाताको विश्वास जित्ने अभियानमा सक्रिय रहेका छन्।

डा. कोइराला हाल आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रममा जनताका सल्लाह, सुझाव र प्रतिक्रिया सुन्दै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्न व्यस्त छन् । अन्य दल भन्दा नयाँ फरक किसिमका बिचार एजेन्डाका साथ गाउँघरमा पुगेका उनले सकारात्मक सुझाव प्रतिक्रिया पाएका छन् ।