Logo

मेघनाथ पहाडी

२९ माघ २०८२, बिहिबार

सर्लाहीमा नयाँ आशा: सेवा, सुशासन र विकासको एजेन्डासहित नितिमा कार्की मैदानमा


काठमाडौँ । सर्लाही निर्वाचन क्षेत्र नं. १ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन फरक सन्देशसहित अघि बढिरहेको छ। पुराना राजनीतिक शैलीप्रति बढ्दो असन्तुष्टि र वैकल्पिक नेतृत्वको खोजीबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नितिमा कार्कीलाई उम्मेदवारका रूपमा अघि सारेपछि यहाँको राजनीतिक बहस नयाँ मोडमा पुगेको छ।

रास्वपाको चुनाव चिह्न ‘घण्टी’सहित सार्वजनिक गरिएको प्रचार सामग्रीमार्फत उम्मेदवार कार्कीले आफ्ना प्राथमिकता, राजनीतिक दृष्टिकोण र जनताप्रति गर्ने ७ प्रतिबद्धता सार्वजनिक गरेकी छन्। उनको उम्मेदवारी केवल चुनावी प्रतिस्पर्धा मात्र नभई, सेवा, इमानदारी र उत्तरदायी राजनीतिमार्फत सर्लाही–१ को भविष्य बदल्ने प्रयासका रूपमा हेरिएको छ।

इमानदार मन, सेवाभावले भरिएको सोच र जनताप्रतिको साँचो माया—यही नै मेरो राजनीतिक यात्रा हो, उम्मेदवार कार्की भन्छिन्। उनको भनाइमा राजनीति सत्तामा पुग्ने माध्यम होइन, जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने सेवा हो। “सत्ताको लागि होइन, सेवाको लागि अघि बढेको नेतृत्व” नै आफूले प्रतिनिधित्व गर्ने राजनीतिक दर्शन भएको उनको दाबी छ।

नितिमा कार्कीले सीपमा आधारित रोजगारी सिर्जना, सम्मानजनक आयको सुनिश्चितता र उद्यमशीलताको वातावरण निर्माणलाई आफ्नो प्रमुख एजेन्डा बनाएकी छन्। सर्लाहीका युवाहरू बाध्य भएर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था अन्त्य गर्न स्थानीय स्तरमै अवसर सिर्जना गर्नुपर्ने उनको धारणा छ।

त्यसैगरी, शिक्षा क्षेत्रलाई विकासको मेरुदण्ड मान्दै उनले गुणस्तरीय, व्यवहारिक र विकासमुखी शिक्षा प्रणाली सर्लाही–१ को प्राथमिकतामा रहने बताएकी छन्। शिक्षा केवल प्रमाणपत्रका लागि होइन, जीवन उपयोगी सीप र अवसरसँग जोडिनुपर्ने उनको भनाइ छ।

कार्कीले भ्रष्टाचारमुक्त, सदाचारयुक्त र पारदर्शी शासन व्यवस्थालाई आफ्नो अटल प्रतिबद्धता भएको उल्लेख गरेकी छन्। जनतासँग प्रत्यक्ष जवाफदेही नहुने पुरानो राजनीतिक अभ्यासलाई अन्त्य गर्दै परिणाम देखिने शासन प्रणाली स्थापना गर्ने उनको योजना छ।

स्वास्थ्य सेवालाई नागरिकको मौलिक अधिकारका रूपमा व्याख्या गर्दै उनले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा व्यवहारमै उतार्ने प्रतिवद्धता जनाएकी छन्। उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य गर्न स्थानीय स्वास्थ्य संरचना सुदृढ बनाइने उनको भनाइ छ।

सर्लाहीको आर्थिक सम्भावनाको केन्द्रमा रहेको कृषि क्षेत्रलाई आधुनिकिकरण गर्दै कार्कीले आधुनिक, प्रविधिमैत्री र व्यावसायिक कृषि प्रणालीलाई प्राथमिकतामा राखेकी छन्। उत्पादन, भण्डारण, बजारीकरण र मूल्य सुनिश्चिततामार्फत किसानलाई आत्मनिर्भर बनाउने उनको योजना छ।

महिला र युवाको सशक्तीकरण बिना समग्र विकास अधुरो रहने स्पष्ट धारणा राख्दै कार्कीले नीति निर्माणदेखि नेतृत्व तहसम्म उनीहरूको निर्णायक सहभागिता सुनिश्चित गर्ने बताएकी छन्।

त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका युवाहरूलाई लक्षित गर्दै स्वदेशमै रोजगारी सिर्जना, उद्यमशीलतामा सहजीकरण र घर फर्किएर पुनःएकीकरण गर्न सहज वातावरण बनाइने प्रतिवद्धता पनि उनको एजेन्डामा रहेको छ।

कार्की भन्छिन्, तपाईंको विश्वास नै मेरो शक्ति हो।आउँदो निर्वाचनमा विकास, विश्वास र उज्यालो भविष्यका लागि घण्टी चिन्हमा अमूल्य मत दिन उनले सर्लाही–१ का मतदातासँग आग्रह गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले नितिमा कार्कीको उम्मेदवारीमार्फत सर्लाही–१ मा वैकल्पिक, जवाफदेही र जनमुखी राजनीतिको स्पष्ट सन्देश जाने विश्वास व्यक्त गरेको छ।

जनतासँगै, जनताको लागि—सधैं भन्ने नारासहित अघि बढेकी कार्कीको उम्मेदवारीले सर्लाही–१ को चुनावी माहोल थप रोचक बनाएको छ।