Logo

मेघनाथ पहाडी

२९ माघ २०८२, बिहिबार

बुढानीलकण्ठ–गंगालालबीच सहकार्य: मुटु उपचारमा ५० हजार नि:शुल्क


काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबीच नगरबासीको मुटु उपचारमा सघाउ पुर्‍याउने उद्देश्यले एक महत्वपूर्ण सेवा सम्झौता भएको छ। यस सम्झौतासँगै नगरपालिकाले गंगालाल अस्पतालमा ‘संवेदनशील मुटु उपचार सहायता कोष’ खडा गर्ने भएको हो ।

नगरपालिकाले उक्त कोषका लागि प्रारम्भिक रूपमा रू. २५ लाख विनियोजन गरेको छ। यस व्यवस्थाले विशेष गरी आर्थिक अभावका कारण उपचार नपाउने मध्यम उमेर समूहका नागरिकहरूलाई ठुलो राहत पुग्ने विश्वास लिइएको छ।

बुढानीलकण्ठ नगरपालिकाभित्र स्थायी बसोबास गर्ने १५ देखि ७४ वर्ष उमेर समूहका नागरिक, मुटु सम्बन्धी उपचारमा वर्षको एक पटकका लागि रू. ५० हजार सम्मको नि:शुल्क सेवा र बिरामीले पहिले नेपाल सरकारबाट प्राप्त हुने विपन्न उपचार सहायता कोषको प्रक्रिया पूरा गर्नुपर्ने त्यसपछि अपुग रकम यस कोषबाट बेहोरिनेछ।

नगर प्रमुख मिठाराम अधिकारीले भने, “नगरबासीको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो। ज्येष्ठ नागरिक र बालबालिकाका लागि राज्यका विभिन्न कार्यक्रम भए पनि १५ देखि ७४ वर्षका नागरिकहरू धेरैजसो मारमा परेको देख्यौँ। अब आर्थिक अभावकै कारण कुनै पनि नगरबासीले मुटुको उपचारबाट वञ्चित हुनुपर्ने छैन। यो कोषले नागरिकको जीवन रक्षामा एउटा बलियो खम्बाको काम गर्नेछ।”

नगर उपप्रमुख अनिता लामाले भनिन्,”हामीले केवल सडक र पूर्वाधारलाई मात्र विकास ठानेनौँ, मानवीय विकास र स्वास्थ्य सुरक्षालाई पनि उत्तिकै महत्व दिएका छौँ। यो सम्झौता नवीकरण मात्र नभई नगरबासीका लागि एउटा भरपर्दो स्वास्थ्य सुरक्षा कवच हो। यसलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै लैजाने हाम्रो लक्ष्य छ।”

बुढानीलकण्ठ नगरपालिकाले देखाएको यो तत्परता प्रशंसनीय छ। स्थानीय सरकार र अस्पतालबीचको यस्तो सहकार्यले उपचार प्रक्रियालाई थप व्यवस्थित बनाउँछ। हामी नगरपालिकाले खडा गरेको कोषमार्फत नगरबासीलाई गुणस्तरीय र छिटोछरितो सेवा दिन प्रतिबद्ध रहेको अस्पतालको भनाइ छ।

सेवा लिनका लागि बिरामीले बुढानीलकण्ठ नगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाणित हुने कागजात (नागरिकता वा बसाईँसराई प्रमाणपत्र) र सम्बन्धित वडाको सिफारिस सहित अस्पतालमा सम्पर्क गर्नुपर्नेछ।