Logo

बागमती पेज

१४ फाल्गुन २०८२, बिहिबार

षड्यन्त्रको पर्दाफास: रास्वपा उम्मेदवार नितिमा कार्कीविरुद्धको फेक न्युज खेती, कानुनी कठघरामा उभ्याउने चेतावनी


काठमाडौं। सर्लाही निर्वाचन क्षेत्र नं. १ मा रास्वपाको बढ्दो जनलहरबाट अत्तालिएका विपक्षीहरूले उम्मेदवार नितिमा कार्कीविरुद्ध भ्रामक र चरित्र हत्या गर्ने दुष्प्रचार सुरु गरेका छन्। आफू संलग्न नै नभएको विषयलाई जोडेर सामाजिक सञ्जालमा फैलाइएको झुठो हल्लाप्रति कार्कीले कडा आपत्ति जनाउँदै कानुनी उपचार खोज्ने घोषणा गरेकी छिन्।

निर्वाचनको संघारमा कार्कीको पक्षमा देखिएको जनलहर र पछिल्लो समय पार्टी सभापति रवि लामिछाने तथा स्वतन्त्र अभियानका प्रभावशाली व्यक्तित्वहरूको समर्थनले विपक्षीहरूमा छटपटी सुरु भएको विश्लेषण गरिएको छ।

“चुनाव जित्ने निश्चित देखिएपछि मेरो राजनीतिक उचाइ घटाउन र मतदातालाई भ्रमित पार्न रचिएको यो एउटा कुत्सित षड्यन्त्र मात्र हो,” कार्कीले भनिन्, “तथ्यहीन सामाग्रीको आयु लामो हुँदैन, म यस्ता हर्कतको घोर भत्र्सना गर्दछु।”

केही दिनदेखि केही अज्ञात फेसबुक प्रयोगकर्ता र सस्तो लोकप्रियता खोज्ने मिडियाले कार्कीलाई ‘सुन प्रकरण’ सँग जोडेर भ्रम छरिरहेका छन्।

उनी एक सफल महिला उद्यमी हुन्, जो पैसा कमाउन नभई समाजसेवाको पवित्र उद्देश्यले राजनीतिमा होमिएकी हुन्। यस्ता कपोलकल्पित समाचार सम्प्रेषण गर्नेहरूविरुद्ध साइबर अपराध र मानहानीको मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाइएको छ।

कार्कीले आफ्ना समर्थक र सर्लाही–१ का आम मतदातालाई यस्ता प्रायोजित हल्लाबाट विचलित नहुन आग्रह गरेकी छिन्। “मलाई विश्वास छ, सर्लाहीका जनता सचेत हुनुहुन्छ। झुठको खेती गर्नेहरूलाई मतपत्रमार्फत जवाफ दिइनेछ,” उनले दृढताका साथ व्यक्त गरिन्।