Logo

मेघनाथ पहाडी

१७ फाल्गुन २०८२, आइतबार

समृद्धिको नयाँ सुत्र: कास्की-२ मा वैज्ञानिक नेतृत्व, नयाँ युगको सुरुवात


Dr.-Niranjan-Koirala-kaski-2-bagmatipage.jpg

पोखरा। राजनीतिमा सधैँ एउटै अनुहार र पुरानै आश्वासनबाट थकित बनेका कास्की क्षेत्र नं. २ का मतदाताहरूका लागि यसपटकको निर्वाचन एउटा फरक मोड बनेको छ। “अब संसदमा वैज्ञानिक” भन्ने नाराका साथ चुनावी मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवार डा. निरञ्जन कोइरालाले यतिबेला सबैको ध्यान तानेका छन्।

युवा वैज्ञानिकको छवि बनाएका डा. कोइरालाले राजनीतिलाई केवल भावना र भाषणमा मात्र सीमित नराखी यसलाई तथ्य, प्रमाण र अनुसन्धानमा आधारित बनाउनुपर्ने वकालत गरिरहेका छन्।

डा. कोइरालाको चुनावी एजेन्डाको मुख्य खम्बा नै ‘विज्ञानबाट विकास’ हो। उनले ऊर्जा, कृषि, शिक्षा, प्रविधि र उद्योगलाई परम्परागत शैलीबाट मुक्त गरी आधुनिक प्रविधिसँग जोड्ने योजना अघि सारेका छन्। उनको भिजन स्पष्ट छ “Make in Kaski → Make in Nepal” स्थानीय स्रोत र सीपलाई राष्ट्रिय शक्तिमा बदल्ने यो अवधारणाले युवा पुस्तामा नयाँ आशा जगाएको छ।

स्वतन्त्र उम्मेदवार डा. निरञ्जन कोइरालाले आज देशले भावनात्मक नाराभन्दा बढी प्रमाणमा आधारित नीति र परिणाममुखी नेतृत्व खोजिरहेको छ। हामीले विकासलाई अनुसन्धान र डाटासँग नजोडेसम्म दिगो समृद्धि सम्भव छैन।

चुनावी प्रचारका क्रममा डा. कोइरालाले आफ्नो चुनाव चिन्ह मसी लाई ज्ञान र विवेकको प्रतीकको रूपमा प्रस्तुत गरेका छन्। आगामी फाल्गुन २१ गते हुने निर्वाचनमा आफ्नो अमूल्य मत दिएर एक सक्षम र जिम्मेवार नेतृत्वलाई संसदमा पुर्‍याउन उनले मतदातालाई अपिल गरेका छन्।

उम्मेदवार कोइरालाका अनुसार, कास्की क्षेत्र नं. २ बाट सुरु हुने यो वैज्ञानिक सोचले समग्र नेपालकै भविष्यलाई नयाँ दिशा दिनेछ। उनले थपे, हाम्रो लक्ष्य स्थानीय सम्भावनालाई विश्वबजारसँग जोड्ने हो। मसी चिन्हमा पर्ने प्रत्येक मतले नेपाललाई प्रविधिमैत्री र आत्मनिर्भर बनाउने बाटो तय गर्नेछ।

कास्की-२ मा यसपटकको प्रतिस्पर्धा केवल पार्टीहरू बीचको लडाइँ मात्र नभई, पुरानो कार्यशैली र आधुनिक वैज्ञानिक सोच बीचको छनोट पनि हो। डा. कोइरालाको योजनाबद्ध विकासको खाकाले कास्कीका जनतालाई कति आकर्षित गर्छ, त्यो त फाल्गुन २१ को नतिजाले नै बताउनेछ, तर उनले सुरु गरेको वैज्ञानिक राजनीतिको बहसले भने नेपाली राजनीतिमा एउटा नयाँ तरङ्ग पैदा गरिसकेको छ।