Logo

बागमती पेज

कार्तिक २८, २०७९ सोमबार

चुनावका लागि काठमाडौं छाड्ने बढे, दलहरुको ‘निःशुल्क बस’ सेवा


काठमाडौं । आमचुनाव नजिकिएसँगै काठमाडौंबाट बाहिरिने सार्वजनिक सवारीमा यात्रुको चाप बढ्न थालेको छ । चुनावमा मत खसाल्न गाउँघर जानेहरु बढेसँगै यात्रु काउन्टर, बस स्टप र बससहित सार्वजनिक सवारीमा भीडभाड बढेको छ ।

आगामी ४ मंसिरमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुँदैछ । तर, कामको सिलसिलामा आफ्नो स्थायी थातथलो छोडेर शहरमा बस्नेहरुलाई चुनावका लागि गाउँ लैजान दलहरुले नै जोडबल गर्ने गरेका छन् ।

नयाँ बसपार्कको व्यवस्थापन गरिरहेको लोत्से बहुउद्देश्यीय कम्पनीका पंकज मल्लका अनुसार कात्तिकको २२ र २५ गते सुरक्षा निकायहरुले सुरक्षाकर्मीलाई ठाउँ–ठाउँमा पुर्‍याउन एकैपटक २५० वटा बस बुक गराएका थिए । त्यसका कारण पनि केही दिन सवारीमा यात्रुको चाप बढेको थियो । ‘बाजुरा, बझाङ लगायत पश्चिमका जिल्लाका याुत्रलाई दलहरुले झण्डावाला गाडीमा लगिसके’ मल्लले भने ।

चुनावमा आफ्नो पक्षमा बढी भन्दा बढी मत खोसोस् भनेर यात्रुको खर्च आफैंले ब्यहोरेर दल, उम्मेदवार तथा नेता कार्यकर्ताहरुले निःशुल्क गाउँ जाने बसहरु व्यवस्थापन गर्ने गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यष सरोज सिटौला केही दलहरुले मतदाता ओसार्न बुक गर्न थालेको बताउँछन् । ‘दलहरुले यात्रुहरुलाई गाउँ लैजान सुरु गरिसकेका छन्,’ उनले भने, ‘अहिले सवारीको बुकिङ बढेको छ ।’

उनका अनुसार प्रत्येकजसो चुनावमा दलहरुले आफ्ना मतदातालाई निःशुल्क घर पुग्ने व्यवस्था गरेका छन् । निःशुल्क गाउँ जाने मौकाको फाइदा उठाउँदै काठमाडौंबाट धेरै यात्रुहरु बाहिरिन थालिसकेको सिटौलाले बताए ।