काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गठबन्धन सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी नपुग्दा ठूलो दल भएर पनि पार्टी प्रतिपक्षमा बस्नु परेको निष्कर्ष निकालेका छन्।
“जनताको मतबाट हामी पहिलो दलका रूपमा विजयी भएकै हौं,” थापा र शर्माले भनेका छन्, “तर, गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्याउन नसक्दा केवल सत्ताको राजनीतिमा यो पटक पछि परेका मात्रै हौं।”
प्रतिपक्षमा बस्नु पर्दा आक्रोश र असन्तुष्टि स्वाभाविक भएको उनीहरूले उल्लेख गरेका छन्। राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा पुस १६ गते विज्ञप्ती जारी गर्दै महामन्त्रीद्वयले भनेका छन्, “प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल भएर पनि कांग्रेस प्रतिपक्ष बन्न पुगेको र यस्तो नहुनु पर्थ्यो भनेर पार्टी पंक्तिमा गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाउनु अस्वाभाविक होइन।”
महामन्त्रीद्वयले आफ्नो पार्टीले सरकारलाई गुण र दोषका आधारमा मूल्यांकन गर्ने जनाएका छन्। आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको ईमानदार समीक्षा गर्ने र पार्टीको असावधानी, कमजोरी र गल्ती भएको छ, त्यसलाई कुनै ढाकछोप नगरी स्वीकार्दै खुला र पारदर्शी छलफल मार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्नुपर्ने उनीहरूको धारणा छ।
२०३३ पुस १६ गते ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ को नीति लिएर कांग्रेस संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला निर्वासनबाट स्वदेश फर्किएका थिए। यो दिनलाई कांग्रेसले मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्