Logo

बागमती पेज

भाद्र २८, २०८२ शनिबार

नख्खु कारागार फर्किए रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार फर्किएका छन् ।

सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका लामिछाने भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै नख्खु कारागारबाट बाहिर निस्किएका थिए । अदालतको आदेशबिनै परिस्थितिको फाइदा उठाउँदै बाहिर निस्किएको भन्दै लामिछानेको आलोचना भएको थियो ।

सामाजिक सञ्जालमा शनिबार एक भिडियो सन्देश जारी गर्दै लामिछानेले आफू आफ्नो जन्मदिनको सन्दर्भ पारेर कारागार फर्किन लागेको बताएका थिए ।

‘पछिल्लो सरकारले म माथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जिना हराम गरेको थियो । आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ । अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु,’ लामिछानेले भनेका छन् ।

शनिबार लामिछाने नख्खु कारागार फर्कि सकेको ललितपुर प्रहरी प्रवक्ता चक्रराज जोशीले अनलाइनखबरलाई जानकारी दिए ।

लामिछानेले आफू प्रक्रिया पूरा गरेर निस्किएको भन्दै कारागार प्रशासक सत्यराज जोशीद्वारा हस्ताक्षरित रिहाइ पत्र सार्वजनिक गरेका थिए ।

तर, नख्खु कारागार प्रशासनले लामिछानेले सार्वजनिक गरेको उक्त पत्र फर्जी भन्दै उनीसहित भागेका सबै कैदीबन्दीलाई तत्काल फर्किन भनेको थियो ।