काठमाडौं । नेपाली राजनीतिमा स्थापित दलहरूलाई सीधा चुनौती दिने घटनाक्रमका रूपमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भई बृहत् राजनीतिक एकता सम्झौतामा हस्ताक्षर भएको छ। दुवै नेताबीच भएको सहमतिलाई परम्परागत राजनीतिक संरचनामाथिको खुला चुनौतीका रूपमा हेरिएको छ।
सार्वजनिक गरिएको सम्झौतामा भ्रष्टाचारविरुद्ध कठोर संघर्ष, सुशासन, सामाजिक न्याय, जवाफदेही शासन प्रणाली र वैकल्पिक लोकतान्त्रिक राजनीतिक अभ्यासलाई संस्थागत गर्ने साझा प्रतिबद्धता जनाइएको छ। २०८२/०८३ सालमा देशले भोगेको राजनीतिक अस्थिरता, जनआक्रोश र व्यवस्था प्रतिको निराशालाई सम्बोधन गर्ने उद्देश्यसहित दुवै शक्ति एक ठाउँमा आएको उल्लेख छ।
के–केमा सहमति भयो ?
सम्झौताअनुसार एकता पश्चात गठन हुने दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहनेछ। पार्टीको चुनाव चिन्ह घण्टी, झण्डा निलो पृष्ठभूमिमा सेतो घण्टी अंकित रहने र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने सहमति भएको छ।
पार्टीको संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाह रहने उल्लेख छ भने रवि लामिछाने केन्द्रीय नेतृत्वमा रहनेछन्।
राजनीतिक सन्देश के हो ?
यो एकता केवल दुई व्यक्तिबीचको समझदारी मात्र नभई स्थापित दलहरूबाट आजित मतदाताको भावनालाई संगठित गर्ने प्रयासका रूपमा विश्लेषकहरूले हेरेका छन्। बालेन शाहको प्रशासनिक कडाइ र शहरी मतदातामाझको लोकप्रियता तथा रवि लामिछानेको संगठनात्मक अनुभव र राष्ट्रिय पहुँच जोडिँदा वैकल्पिक राजनीतिले नयाँ गति लिने आँकलन गरिएको छ।
विशेषगरी युवापुस्ता, स्वतन्त्र सोच भएका मतदाता, भ्रष्टाचारविरोधी अभियानमा विश्वास गर्ने वर्ग र परम्परागत दलप्रति असन्तुष्ट मतदातालाई यो एकताले आकर्षित गर्न सक्ने देखिन्छ। सम्झौतामा युवाशक्ति र अनुभवी विज्ञलाई पार्टी संरचनामा समेट्ने स्पष्ट उल्लेख हुनु यसको संकेत मानिएको छ।
जोखिम र चुनौती पनि उत्तिकै
यद्यपि यो एकता राजनीतिक रूपमा शक्तिशाली देखिए पनि व्यक्तिकेन्द्रित राजनीति, वैचारिक स्पष्टता, दीर्घकालीन संगठन व्यवस्थापन र सत्ता अभ्यास नै यसको मुख्य परीक्षा हुने विश्लेषकहरूको भनाइ छ। एकता घोषणाले जनअपेक्षा बढाएको छ, तर ती अपेक्षा पूरा गर्न नसकिए उल्टो प्रभाव पर्न सक्ने चेतावनी पनि दिइएको छ।
अबको संकेत
सम्झौतामा अन्य परिवर्तनकामी शक्ति, समूह र व्यक्तिलाई समेत यस अभियानमा सहभागी हुन आह्वान गरिएको छ। यसले आगामी दिनमा वैकल्पिक राजनीतिमा थप ध्रुवीकरण वा नयाँ समीकरण बन्ने सम्भावना देखाएको छ।
काठमाडौंमा सम्पन्न कार्यक्रममा बालेन शाह र रवि लामिछानेले सम्झौतामा औपचारिक हस्ताक्षर गरेका छन्। यो एकताले नेपाली राजनीतिमा नयाँ अध्याय खोल्ने हो वा अर्को असफल प्रयोग बन्ने हो — त्यसको फैसला अब जनताले गर्नेछन्।
















प्रतिक्रिया दिनुहोस्