Logo

बागमती पेज

१९ माघ २०८२, सोमबार

उद्योग सरकारले होइन, निजी क्षेत्रले चलाउँछ : उम्मेदवार सचिन तिमल्सेना


काठमाडौं । काठमाडौं–४ बाट नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले उद्योग–व्यवसाय सरकारको होइन, निजी क्षेत्रको जिम्मा हुनुपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन्।

उनले नेपाली कांग्रेसलाई ‘धनीको पार्टी’ भनेर आरोप लगाइने विषयप्रति प्रतिक्रिया दिँदै भने,
“कांग्रेसले उद्योगको निजीकरण गर्‍यो, त्यसैले धनीको पार्टी भनियो। तर त्यो निर्णय बाध्यात्मक र देशको हितका लागि थियो।”

तिमल्सेनाका अनुसार बहुदल आएपछि जनतामा समृद्धिको ठूलो अपेक्षा थियो। तर त्यसबेला देशको कुल बजेट जम्मा १३ अर्ब रुपैयाँ मात्रै रहेको अवस्थामा विकासका लागि विदेशी लगानी भित्र्याउनु अपरिहार्य थियो। एशियाली विकास बैंक, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) जस्ता संस्थाको सहयोग लिनु पनि त्यसैको परिणाम भएको उनले बताए।

उनले चीनको उदाहरण प्रस्तुत गर्दै भने,
“चीनमा देङ सियाओपिङले करिब ५० हजार सरकारी उद्योग निजीकरण गर्दै विदेशी लगानी भित्र्याए। यही नीति चीनको उन्नतिको मुख्य आधार बन्यो।”

सरकारले उद्योग चलाउने होइन, नीति बनाउने, वातावरण तयार गर्ने र नियमन गर्ने भूमिका खेल्नुपर्ने उनको जोड छ। “उद्योग चलाउने काम निजी क्षेत्रले गर्छ, सरकारको काम त सहजता र स्थायित्व दिनु हो,” उनले स्पष्ट पारे।

सचिन तिमल्सेनाको यो धारणा अहिलेको आर्थिक बहस, निजीकरण र राज्यको भूमिकामाथि गम्भीर प्रश्न उठाउने खालको छ, जसले चुनावी बहसलाई समेत नयाँ दिशातर्फ मोड्ने संकेत गरेको छ।