काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ यस पटक केवल उम्मेदवारको प्रतिस्पर्धा होइन, राजनीतिक पुस्तान्तरण, दलगत ध्रुवीकरण र वैकल्पिक शक्तिको प्रभाव मापन हुने थलो बन्दै गएको छ। नेकपा (एमाले)बाट अनुभवी बौद्धिक नेता डा. राजन भट्टराई, नेपाली कांग्रेसबाट युवा नेता सचिन तिमिल्सिना र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बढ्दो प्रभावबीचको यो भिडन्त राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।
नेकपा (एमाले)का उम्मेदवार डा. राजन भट्टराई अनुभवी, वैचारिक रूपमा स्पष्ट र अन्तर्राष्ट्रिय अनुभव बोकेका नेता हुन्। अघिल्ला निर्वाचनमा एमालेले काठमाडौं–४ मा बलियो उपस्थिति देखाए पनि गगन थापाको व्यक्तिगत लोकप्रियताका कारण सफलता हात पार्न सकेको थिएन।
यस पटक भने परिस्थिति फरक छ। गगन मैदानमा नहुँदा एमालेले आफ्नो परम्परागत मत, संगठन र स्थायित्वको एजेन्डालाई पुनः सक्रिय बनाउने अवसर देखेको छ। डा. भट्टराईको उम्मेदवारीले एमालेको ‘स्थिरता र अनुभव’ पक्षलाई बलियो बनाएको छ
कांग्रेस सभापति गगनकुमार थापाले लगातार जित्दै आएको क्षेत्र छोडेपछि यहाँ सचिन तिमिल्सिनालाई अघि सारिनु कांग्रेसका लागि जोखिम र अवसर दुवै हो। तिमिल्सिना युवा राजनीति, नागरिक स्वतन्त्रता र नीति–आधारित बहसबाट स्थापित नाम हुन्।
युथ कांग्रेस नेपालको अध्यक्ष रहँदा उनले नेपाली कांग्रेस नीति २०८० जस्तो अभ्यासमार्फत युवालाई नीति निर्माणमा जोडेको पक्ष काठमाडौं–४ का शिक्षित र सचेत मतदातामाझ प्रभावकारी देखिन्छ। तर, गगनजस्तो स्थापित नेताको प्रत्यक्ष उपस्थितिबिनाको चुनावमा सचिनले व्यक्तिगत मताधार विस्तार गर्नुपर्ने चुनौती पनि उत्तिकै छ।
अघिल्लो निर्वाचनमा गगन थापाले स्पष्ट मतान्तरसहित जित निकालेका थिए, एमाले दोस्रो र अन्य दल धेरै पछाडि थिए। तर त्यो जित धेरै हदसम्म गगनको व्यक्तिगत लोकप्रियतासँग जोडिएको थियो।
यद्यपि काठमाडौं–४ मा रास्वपाको उम्मेदवारीले मुख्य दुई दललाई चुनौती दिने हैसियत कति बनाउँछ भन्ने प्रश्न खुला छ, तर पार्टीभित्रको सकारात्मक माहोल भने उल्लेखनीय छ।
रास्वपाका वरिष्ठ नेता पुकार बमको सक्रियता, बालेन्द्र शाह (बालेन) को राष्ट्रिय राजनीतिक प्रवेश र वैकल्पिक राजनीतिक भाष्यले शहरी युवामाझ उत्साह बढाएको छ। अघिल्लो चुनावमा रास्वपाले काठमाडौं उपत्यकामा उल्लेखनीय मत पाएको तथ्यले यस पटक पनि कांग्रेस–एमाले दुवैका ‘स्विङ भोट’ काट्न सक्ने सम्भावना देखिन्छ।
अघिल्लो निर्वाचनमा गगन थापाले स्पष्ट मतान्तरसहित जित निकालेका थिए, एमाले दोस्रो र अन्य दल धेरै पछाडि थिए। तर त्यो जित धेरै हदसम्म गगनको व्यक्तिगत लोकप्रियतासँग जोडिएको थियो।
यस पटक गगनको अनुपस्थितिले कांग्रेसको आधार मत कति मजबुत छ भन्ने परीक्षा लिँदैछ। एमालेले संगठनात्मक शक्ति पुनः प्रयोग गर्न खोजिरहेको छ भने रास्वपाले वैकल्पिक मतदातालाई आकर्षित गर्ने ठाउँ बनाएको छ।
यहाँको नतिजाले केवल एक सिटको निर्णय होइन, शहरी मतदाताको राजनीतिक झुकाव र भविष्यको दिशासमेत संकेत गर्नेछ।
















प्रतिक्रिया दिनुहोस्