काठमाडौं । कास्की क्षेत्र नं. २ बाट प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका युवा वैज्ञानिक डा. निरञ्जन कोइरालाले पाँच वर्षमा पाँच ठूला काम गर्ने स्पष्ट रोडम्याप सार्वजनिक गरेका छन्। “अब संसदमा वैज्ञानिक” भन्ने नारासहित चुनावी अभियानमा सक्रिय उनले देशको विकासलाई नारा होइन, व्यवहारिक योजनाबाट अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
उनको रोडम्यापको पहिलो प्राथमिकता मातृभूमिको जमिन र जलमा रहेका प्राकृतिक स्रोतहरूको वैज्ञानिक पहिचान हो। देशभित्र रहेका सम्भावनाहरूलाई पहिचान गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने योजना उनले अघि सारेका छन्।
दोस्रो एजेन्डा कृषिमा औजारिकरण, जैविक मलको स्वदेशी उत्पादन, विषादीमुक्त तरकारी तथा फलफूल उत्पादन र किसानलाई बजारको सुनिश्चितता हो। किसानलाई उत्पादनदेखि बिक्रीसम्म राज्यले जिम्मेवारी लिनुपर्ने उनको धारणा छ।
तेस्रो बुँदामा जडीबुटी, जैविक ऊर्जा, जैविक पर्यटन र जैविक अर्थतन्त्रमा जोड दिँदै उद्योग–कलकारखाना स्थापना गरी रोजगारी सिर्जना गर्ने योजना समेटिएको छ। युवालाई विदेशिनु पर्ने बाध्यता अन्त्य गर्ने लक्ष्य उनले अघि सारेका छन्।
चौथो प्रतिबद्धतामा बालबालिकालाई विद्यालय तहदेखि नै कोडिङ, अन्तरिक्ष विज्ञान, कृत्रिम बुद्धिमत्ता र नयाँ प्रविधिमा जानकार गराउने प्राविधिक शिक्षाको योजना रहेको छ। भविष्यको प्रतिस्पर्धी पुस्ता तयार पार्ने उद्देश्य यसमा देखिन्छ।
पाँचौं एजेन्डामा वैज्ञानिक ढंगले संविधान संशोधन गर्ने, आवश्यक कानुन तथा नीति–नियम निर्माण गर्ने प्रतिबद्धता उनले जनतामाझ राखेका छन्।
वैज्ञानिक सोच, स्पष्ट योजना र जनताको घर–आँगनमा सहज पहुँचका कारण डा. कोइरालालाई कास्की–२ मा वैकल्पिक नेतृत्वका रूपमा हेरिन थालिएको छ। परम्परागत राजनीतिक नाराभन्दा फरक, व्यवहारिक एजेन्डा लिएर मैदानमा उत्रिएको उनको अभियानले चुनावी माहोललाई थप तातेको छ। “नारा होइन, नतिजा चाहिन्छ” भन्ने सन्देशसहित उनी अहिले मतदाताको घरदैलोमा सक्रिय छन्।
















प्रतिक्रिया दिनुहोस्