Logo

मेघनाथ पहाडी

३ फाल्गुन २०८२, आइतबार

सुरुङमार्ग-स्मार्ट सिटी संकल्प सहित उम्मेदवार मनोज जंग थापा चुनावी मैदानमा


काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुली क्षेत्र नम्बर २ का नेकपा (एमाले) उम्मेदवार मनोज जंग थापाले आफ्नो विस्तृत प्रतिज्ञा–पत्र सार्वजनिक गरेका छन् । “सामाजिक सद्भाव, एकता, न्याय, समानता र समृद्ध राष्ट्र निर्माण हाम्रो अभियान” भन्ने नाराका साथ सार्वजनिक गरिएको उक्त पत्रमा जिल्लाको चौतर्फी विकासका योजना समेटिएका छन्।

चियाबारी–खुर्कोट सुरुङमार्ग निर्माणका लागि विशेष पहल गर्ने विषयलाई थापाले प्राथमिकतामा राख्नुभएको छ। साथै मरिण र हरिहरपुरगढीलाई ‘स्मार्ट सिटी’ तथा औद्योगिक क्षेत्रका रूपमा विकास गर्ने र पहाडी भेगलाई ‘हिलटाउन’ बनाउने योजना अघि सारिएको छ।

सिन्धुलीको जुनार, सुन्तला, अदुवा र आलुलाई आधुनिक प्रविधिमार्फत ब्रान्डिङ र बजारीकरण गरिनेछ। सुनकोशी–मरिण डाइभर्सनलाई व्यवस्थित गर्दै सिंचाई विस्तार गर्ने र घ्याङलेखलाई जडिबुटी हब बनाउने उम्मेदवार थापाको संकल्प छ।

प्रादेशिक अस्पतालको स्तरोन्नति, जलन पीडितको नि:शुल्क उपचार र प्रत्येक पालिकामा १५ शैयाको अस्पताल। कमलामाई नगरलाई ‘शैक्षिक हब’ बनाउने, मरिणमा भेटेनरी विषयसहित स्नातकोत्तर तहको अध्यापन गराउने र प्रविधिमैत्री शिक्षामा जोड दिने।

सिन्धुलीगढी र हरिहरपुरगढी जस्ता ऐतिहासिक स्थलको संरक्षण गर्दै सुनकोशीमा जल पर्यटन र धार्मिक क्षेत्रहरूको विकास गरी सिन्धुलीलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्य लिइएको छ।

वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको सीप उपयोग गर्न ‘सीप तालिम केन्द्र’ स्थापना गर्ने र महिला उद्यमशीलताका लागि सहुलियतपूर्ण नीति ल्याउने प्रतिवद्धता पत्रमा उल्लेख छ।

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै सरकारी सेवालाई झन्झटमुक्त बनाउन डिजिटल प्रणाली लागू गर्ने र कर प्रणालीमा सुधार ल्याउने थापाले बताए।

सार्वजनिक प्रतिज्ञा-पत्रमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र पर्यटनलाई मुख्य प्राथमिकतामा राखिएको छ। थापाले सिन्धुलीको लाइफलाइन मानिएको बिपी राजमार्गको चाप कम गर्न र यात्रा सहज बनाउन चियाबारी–खुर्कोट सुरुङमार्ग निर्माणका लागि विशेष पहल गर्ने प्रतिबद्धता जनाए। यस्तै, मरिण र हरिहरपुरगढीलाई औद्योगिक क्षेत्र र स्मार्ट सिटीका रूपमा विकास गर्ने तथा दुर्गम क्षेत्रमा सडक र विद्युतको पहुँच पुर्‍याउने योजना उनको प्राथमिकतामा छ।