Logo

बागमती पेज

२९ माघ २०८२, बिहिबार

जेनजीको माग जायज, विध्वंस मच्चाउनेलाई कारबाही: डा. राजन भट्टराई


काठमाडौँ । नेकपा एमालेका सचिव एवं काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले भदौ २३ र २४ को हिंसात्मक घटनालाई लिएर सरकारलाई कडा चुनौती दिएका छन्। बिहीबार काठमाडौँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले ‘जेनजी’ (नयाँ पुस्ता) का जायज मागलाई ढाल बनाएर राज्यको मुटु मानिने संसद् भवनमाथि नै आक्रमण हुनु अक्षम्य अपराध भएको बताएका हुन्।

काठमाडौँ ४ को चुनावी रापताप बढिरहेका बेला भट्टराईले यो घटनालाई लिएर निकै आक्रामक रूपमा प्रस्तुत भए। उनले नयाँ पुस्ताले उठाएका मुद्दाहरूमा एमालेको पूर्ण समर्थन रहेको स्पष्ट पार्दै आन्दोलनभित्र छिरेका ‘बिचौलिया’ र ‘विध्वंसकारी’ हरूको पहिचान हुनुपर्नेमा जोड दिए।

“भदौ २३ को बिहान शान्तिपूर्ण भेला भएर एभरेस्ट होटल पुग्दासम्म युवा पुस्ताले राखेका मागलाई हामी स्यालुट गर्छौँ, त्यसमा हाम्रो विमति छैन,” भट्टराईले भने, “तर जब निषेधित क्षेत्र तोडेर संसद् भवनमाथि आक्रमण र आगजनी गरियो, त्यो आन्दोलन रहेन। त्यहाँबाट छानबिन सुरु हुनुपर्छ र दोषी जोसुकै होस्, कारबाहीको दायरामा आउनुपर्छ।”

नेता भट्टराईले निष्पक्ष छानबिनको माग गर्दै यसमा एमालेको कुनै पनि तहको नेता संलग्न देखिए पनि पार्टीले संरक्षण नगर्ने घोषणा गरे। उनले भने, “छानबिनमा एमालेको कोही नेता दोषी देखिन्छ भने हामी त्यो दोष भोग्न तयार छौँ। तर ती अबोध बालबालिका जसलाई शान्तिपूर्ण आन्दोलन भन्दै त्यहाँ ल्याएर ढाल बनाइयो, उनीहरूलाई प्रयोग गर्ने मुख्य योजनाकार उम्किनु हुँदैन।”

डा. भट्टराईले भदौ २३ को घटना एउटा ‘ग्रान्ड डिजाइन’ अन्तर्गत भएको दाबी गर्दै यसलाई सुगौली सन्धिपछिको सबैभन्दा डरलाग्दो र नोक्सानीको घटनाको रूपमा चित्रण गरे। २४ गतेको विध्वंस मच्चाउने रणनीति २३ गतेकै तयारीबाट सुरु भएको उनको भनाइ छ।

यतिबेला काठमाडौँ क्षेत्र नम्बर ४ मा चुनावी माहोल चरम उत्कर्षमा छ। एकातिर विकासका एजेन्डा र अर्कोतिर राष्ट्रिय सुरक्षाका सवालमा भट्टराईले लिएको यो ‘हार्डलाइन’ स्ट्यान्डले मतदातामाझ ठुलो चर्चा पाएको छ। जेनजी पुस्ताको भावनालाई सम्मान गर्दै अराजकताको डटेर विरोध गर्ने उनको यो शैलीले चुनावी मैदानमा विपक्षीहरूलाई समेत दबाबमा पारेको देखिन्छ।

यस क्षेत्रका मतदाताहरूमाझ डा. भट्टराईले आफूलाई विधिको शासन र युवाहरूको भविष्य सुनिश्चित गर्ने नेताको रूपमा प्रस्तुत गरिरहेका छन्। संसद् भवनमाथिको आक्रमणलाई लिएर उनले दिएको यो ‘ओपन च्यालेन्ज’ ले अहिलेको चुनावी माहोललाई थप तातो बनाएको छ।