Logo

मेघनाथ पहाडी

२ फाल्गुन २०८२, शनिबार

केन्द्रीय प्रचार समितिमा केशव पाठक: कांग्रेसको चुनावी रणनीतिमा ऊर्जा थप्ने विश्वास


काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले आफ्नो प्रचार संयन्त्रलाई सुदृढ बनाउने क्रममा प्रखर पत्रकार, लेखक तथा विश्लेषक केशव पाठकलाई केन्द्रीय प्रचार-प्रसार समितिमा मनोनित गरेको छ। पार्टीका केन्द्रीय प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिमा पाठकको आगमनलाई राजनीतिक र बौद्धिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

लामो समय नेपाली पत्रकारिताको अग्रपङ्क्तिमा रहेर काम गरेका पाठक एक अब्बल र अध्ययनशील व्यक्तित्वका रूपमा परिचित छन्। पत्रकारिताबाट विश्राम लिनुअघि काठमाडौं खबरको प्रधानसम्पादकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका उनी हाल फ्रिलाइन्स लेखन र विभिन्न राष्ट्रिय पत्रिकाहरूमा गहकिला स्तम्भहरू लेख्दै आएका छन्। समसामयिक राजनीति, सामाजिक मुद्दा र रणनीतिक विषयमा उनको कलमले छुट्टै प्रभाव राख्ने गर्दछ।

करीब तीन वर्षअघि नेपाली कांग्रेसको साधारण सदस्यबाट राजीनामा दिएर स्वतन्त्र लेखन र नागरिक अभियानमा सक्रिय भएका पाठकको यो मनोनयनलाई ‘बौद्धिक पुनरागमन’ का रूपमा लिइएको छ। नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग निकट वैचारिक सम्बन्ध रहेका पाठकलाई थापाका प्रमुख रणनीतिक सल्लाहकारहरूमध्ये एक मानिन्छ।

पाठकको अध्ययनशीलता र तार्किक क्षमताले कांग्रेसको चुनावी एजेन्डालाई जनतामाझ प्रभावकारी ढङ्गले लैजान मद्दत पुग्ने अपेक्षा गरिएको छ।

समितिमा पाठकसँगै अर्का अनुभवी पत्रकार तथा लेखक सुदर्शन आचार्य पनि मनोनित भएका छन्। बौद्धिक धारका यी दुई व्यक्तित्वको उपस्थितिले कांग्रेसको प्रचार समितिलाई केवल नारामा मात्र सीमित नराखी वैचारिक र तार्किक रूपमा पनि बलियो बनाउने देखिएको छ।
विशेषगरी युवा पुस्तामाझ लोकप्रिय नेता गगन थापाको कार्यशैली र पाठकको लेखन कौशलको फ्युजनले निर्वाचनमा कांग्रेसको पक्षमा सकारात्मक माहोल सिर्जना गर्ने नेताहरूको विश्वास छ।

पाठकको नियुक्तिले पार्टीभित्रका बौद्धिक समूहमा उत्साह थपेको छ भने स्वतन्त्र छवि भएका व्यक्तिहरूलाई पनि पार्टीको मूलधारमा समेट्ने कांग्रेसको नीतिलाई पुष्टि गरेको छ।