Logo

बागमती पेज

१५ फाल्गुन २०८२, शुक्रबार

रास्वपामा पहिरो: संयोजकसहित १४ जनाद्वारा विद्रोह, आर्थिक अनियमितता आरोप


RSP

काठमाडौँ । सुशासन र वैकल्पिक राजनीतिको नारा दिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गम्भीर विचलन देखिएको छ।

पार्टीको कार्यशैली र नेतृत्वको नियतमाथि प्रश्न उठाउँदै काठमाडौँ क्षेत्र नम्बर ५ का संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले सामूहिक राजीनामा दिएका छन्।

राजीनामा दिने टोलीले नेतृत्वमाथि साधारण आरोप मात्र लगाएको छैन, बरु प्रतिनिधि सभा उम्मेदवार छनोटका क्रममा आर्थिक अनियमितता समेत भएको सनसनीपूर्ण दाबी गरेको छ।

राजीनामा पत्रमा उल्लेख गरिए अनुसार, पार्टीले लोकतन्त्र र सुशासनको आवरणमा देश निर्माण गर्ने कार्यकर्ताको भावनामाथि गहिरो चोट पुर्‍याएको छ।

“पार्टीका स्थानीय गतिविधि र नेतृत्वको अपारदर्शी व्यवहारले गर्दा हामी अब यस संस्थामा रहिरहन सक्ने अवस्था रहेन। सुशासनको कुरा गर्ने पार्टीभित्रै आर्थिक चलखेल हुनु दुर्भाग्यपूर्ण छ,” राजीनामा पत्रमा उल्लेख छ।

राजीनामा दिनेहरूका अनुसार पार्टीले सुरुवाती वाचा र कसमहरू भुल्दै गएको र आन्तरिक लोकतन्त्रलाई कुल्चिएको छ। विशेषगरी उम्मेदवार छनोटमा भएको भनिएको ‘आर्थिक सेटिङ’ ले इमानदार कार्यकर्ताहरूलाई निराश बनाएको उनीहरूको ठहर छ।

यो सामूहिक राजीनामाले काठमाडौँ क्षेत्र नम्बर ५ मा रास्वपाको संगठनलाई ठुलो धक्का पुग्ने निश्चित देखिएको छ भने केन्द्रीय नेतृत्वमाथि समेत नैतिक प्रश्न खडा गरिदिएको छ।