Logo

मेघनाथ पहाडी

२० फाल्गुन २०८२, बुधबार

मौन अवधि: काठमाडौँ ४ मा रास्वपा कार्यकर्ता नियन्त्रणमा


काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भइसकेको अवस्थामा निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा संलग्न रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरू नियन्त्रणमा परेका छन्।

काठमाडौँ निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार पुकार बमको पक्षमा प्रचारप्रसार गरिरहेको अवस्थामा बुढानीलकण्ठ नगरपालिका वडा नं. ९ र १० को सिमानामा पर्ने ज्योतिनगर पुलबाट प्रहरीले रास्वपाका कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको हो। निर्वाचन आयोगले मतदानको ४८ घण्टा अघिदेखि नै सबै प्रकारका प्रचारप्रसारमा रोक लगाए पनि उनीहरूले आचारसंहिताको धज्जी उडाउँदै गतिविधि गरिरहेको फेला परेको थियो।

निर्वाचन आयोगको नियमावली अनुसार मौन अवधिमा कुनै पनि उम्मेदवार वा दलको पक्षमा भोट माग्न, पर्चा बाँड्न वा कुनै पनि किसिमको प्रचार सामाग्री प्रदर्शन गर्न पाइँदैन। तर, ज्योतिनगर क्षेत्रमा रास्वपा कार्यकर्ताहरूले समूह बनाएरै प्रचारमा उत्रिएपछि स्थानीय र सुरक्षाकर्मीले उनीहरूलाई रोकेका थिए।

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन ‘मौन अवधि’ लाई निकै महत्त्वपूर्ण मानिन्छ। यस समयमा मतदाताले शान्त दिमागले आफ्नो उम्मेदवार छनोट गर्ने अवसर पाउँछन्। यस्तो संवेदनशील समयमा उम्मेदवारकै कार्यकर्ताहरूबाट हुने यस्ता गतिविधिले कानुनी राज्यको उपहास मात्र गर्दैन, लोकतान्त्रिक मूल्य र मान्यतामाथि पनि प्रहार गर्दछ।

आचारसंहिता विपरीत कार्य गर्ने जो कोहीलाई पनि निर्वाचन ऐन अनुसार कडा कारबाही हुनुपर्ने माग स्थानीय स्तरमा उठेको छ।नियन्त्रणमा लिएका कार्यकर्ताहरूबारे थप अनुसन्धान भइरहेको र निर्वाचन आयोगलाई यसबारे जानकारी गराइएको बताइएको छ।