Logo

मेघनाथ पहाडी

२३ फाल्गुन २०८२, शनिबार

काठमाडौं–४ मा पुकार बमको उत्साहजनक अग्रता


काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पुकार बमले निकै ठूलो मतान्तरले अग्रता कायम गरेका छन्।

पछिल्लो मतगणना विवरण अनुसार पुकार बमले २५ हजार ९ सय २२ मत प्राप्त गर्दै आफ्नो अग्रतालाई अत्यन्तै सुरक्षित बनाएका छन्। उनी आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा झन्डै १८ हजारभन्दा बढी मतले अगाडि देखिएका छन्।

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सिनाले ७ हजार १८ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा एमालेका राजन भट्टराई ५ हजार ५ सय ५१ मतका साथ तेस्रो स्थानमा खुम्चिएका छन्।

आफ्नो यो विशाल अग्रताबारे प्रतिक्रिया दिँदै पुकार बमले भने, “काठमाडौंका सचेत मतदाताले परिवर्तनको पक्षमा दिएको यो मत मेरो लागि ठूलो जिम्मेवारी हो। पुराना दल र नेताहरूबाट वाक्क भएका जनताले यसपटक ‘घन्टी’ मार्फत नयाँ सन्देश दिएका छन्। मप्रति भरोसा गर्ने सम्पूर्ण क्षेत्रबासीलाई निराश हुन दिने छैन।”

यसअघि नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले जित्दै आएको यो क्षेत्रमा यसपटक रास्वपाको पक्षमा देखिएको जनलहरले पुराना शक्तिहरूलाई निकै पछि पारेको छ।