Logo

मेघनाथ पहाडी

२३ फाल्गुन २०८२, शनिबार

बागलुङ–१ मा सुशिल खड्का जिततर्फ अग्रसर, पुराना शक्तिहरूको कन्तबिजोग


Sushil khadka baglung 1 rsp Meghnathpahadi

काठमाडौँ । बागलुङ क्षेत्र नम्बर १ मा जारी मतगणनाले एउटा स्पष्ट चित्र कोरिदिएको छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशिल खड्काको जित अब केवल समयको प्रतीक्षा मात्र बनेको छ। सुरुवाती अग्रतालाई झन्-झन् फराकिलो बनाउँदै लगेका खड्काले विपक्षी उम्मेदवारहरूलाई निकै पछाडि छाडेका छन्।

पछिल्लो प्राप्त विवरण अनुसार खड्काले २०,९२७ मत प्राप्त गरिसकेका छन्। गणना अझै जारी रहे पनि खड्काले बनाएको यो विशाल मतान्तरलाई भेट्टाउन अब असम्भव जस्तै देखिएको छ। उनको यो रफ्तारले बागलुङमा ‘घण्टी’ को विजय सुुनिश्चित गरेको छ।

खड्कालाई पछ्याइरहेका नेपाली कांग्रेसका भीमबहादुर श्रीस रानाले ११,९४४ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा एमालेका उम्मेदवार हिराबहादुर खत्री भने ८,६४० मतका साथ तेस्रो स्थानमा खुम्चिएका छन्। खड्का र उनका निकटतम प्रतिस्पर्धी रानाबीचको मतान्तर झन्डै ९ हजार पुगिसकेको छ।

मैदानमा खड्काको वर्चस्व यति कडा देखिएको छ कि अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरूको त ‘जमानत जफत’ हुने लज्जास्पद स्थिति सिर्जना भएको छ। दशकौँदेखि बागलुङमा राज गरेका पुराना दलका हस्तीहरूलाई पाखा लगाउँदै सुशिल खड्काले विजयको सन्निकट पुगेर नयाँ राजनीतिक मानक स्थापित गरेका छन्।

मतगणना अन्तिम चरणमा पुग्दै गर्दा रास्वपाका कार्यकर्ताहरूले सम्भावित जितको खुसीयाली मनाउन सुरु गरिसकेका छन्।