Logo

बागमती पेज

फाल्गुन २७, २०७८ शुक्रबार

समाजवादीले सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित गर्ने


काठमाडौँ । एकीकृत समाजवादीले आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ। बिहीबार सम्पन्न भएको केन्द्रीय कमिटी बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्तिलाई परिचालित गर्ने निर्णय गरेको हो।

बैठकले निर्वाचनमा पार्टीको शक्तिलाई परिचालित गर्नेगरी कार्ययोजना पारित गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकले एमसीसीको विपक्षमा रहेका मतहरुलाई पार्टीको बौद्धिक सम्पतिको रुपमा राखी आवश्यकता अनुसार आगामी दिनमा छलफल गर्ने र अहिले भने केन्द्रीय कमिटी बैठकले गरेको निर्णयलाई स्वीकार गरि अघि बढ्ने निर्णय लिएको छ।

बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र मोर्चा संगठन सञ्चालन निर्देशिका तथा सम्पर्क मञ्च सञ्चालन निर्देशिका केन्द्रीय सदस्यहरुले दिएको सुझावलाई समेटेर पारित गरेको छ।

बैठकले १५ बुँदे समसामयिक प्रस्तावहरु पनि पारित गरेको छ। विश्वका विभिन्न देशहरुमा युद्ध भइरहेको प्रति एकीकृत समाजवादीले खेद प्रकट गर्दै आक्रमणमा परेकाहरुप्रति सहानुभुति प्रकट गरेको छ।

समाजवादीले सुकुम्बासी समस्या समाधान आयोगले सही सुकुम्बासीको यथाशीघ्र पहिचान गरी प्रभावकारी ढंगले दिर्घकालीन समाधानको पहल गर्न, पञ्चायत कालमा राजनीतिक पूर्वाग्रहका कारण निष्काशनमा परेका शिक्षकहरुलाई पुर्नबहाली गर्न सरकार सँग माग गरेको छ।

त्यसैगरी बैठकले सरकार सञ्चालनका लागि गठबन्धनले तयार पारेको साझा न्यूनतम कार्यक्रमलाई सरकारले पूर्ण रुपमा कार्यान्वय गर्न पनि माग गरेको प्रवक्ता खतिवडाले बताए। केन्द्रीय कमिटी बैठक बुधबारदेखि सुरु भएको थियो।