Logo

बागमती पेज

आश्विन २८, २०७७ बुधबार

ईश्वर पोखरेलबाट किन खोसे प्रधानमन्त्रीले रक्षा मन्त्रालय ?


काठमाडौं । भारतीय सेनापति मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमणको टुंगो लागेकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा मन्त्रालयकोे जिम्मेवारी आफैंले लिएका छन् । प्रधानमन्त्री कै विश्वासपात्र मानिएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्दै आएको जिम्मेवारी भारतीय सेनापति नरवाणे नेपाल आउने टुंगो लागेसँगै प्रधानमन्त्रीले रक्षा मन्त्रालय आफ्नो हातमा लिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

नरवाणे नेपाल आउने कुरा बुधबारमात्रै औपचारिक रुपमा सार्वजनिक भएको थियो । नेपाली सेनाकाअनुसार नरवाणे आगामी कार्तिक १८ गते नेपाल आउँदैछन् । प्रधानमन्त्री केपी ओलीले बुधबार गरेको मन्त्रिपरिषद पुनर्गठनमा रक्षामन्त्री रहेका ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा उप-प्रधानमन्त्रीकै हैसियतमा तानेर रक्षा मन्त्रालय आफैले राखेपछि विभिन्न कोणबाट विश्लेषण हुन थालेका छन् ।

कतिपयले यसलाई भारतसँगको सुरक्षा सम्बन्ध त कतिपयले सेनासँग मन्त्री पोखरेलको टसलसँग जोडेर पनि हेरेका छन् । हुन त प्रधानमन्त्रीको यो तजविज र अधिकारको कुरा नै हो । तर,आफ्नै विश्वासपात्र पोखरेललाई रक्षा मन्त्रालयबाट हटाउनुलाई भने राजनीतिक तथा सुरक्षा मामलाका जानकारहरुले अर्थपूर्ण रुपमा लिएका छन् । त्यसो त पोखरेल रक्षामन्त्री भएका बेला नेपाली सेनासँग त्यति सुमधुर सम्बन्ध पनि हुन सकेको थिएन ।

फास्ट ट्रयाक निर्माणबारे मन्त्री पोखरेलले सेनाको काम गराई सन्तोषजनक नभएको सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । त्यसक्रममा उनले सेनाको काम गराईलाई ‘लकिरका फकिर’ को तुलना गरेका थिए । मन्त्री पोखरेलको यो अभिव्यक्तिप्रति नेपाली सेनाले असन्तुष्टि जनाउँदै फास्ट ट्रयाक निर्माणमा भएको ढिलाई नेपाली सेनाका कारण मात्रै नभएर राजनीतिक रुपमा मिलाउनुपर्ने विषय भएको जवाफ दिएको थियो ।