Logo

बागमती पेज

कार्तिक २०, २०७७ बिहीबार

भारतीय सेनाध्यक्ष नरवणेले दिए नेपाली सेनालाई स्वास्थ्य सामग्री


काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोज कुमार नरवणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । बिहीबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक समारोहका बीच नरवणेले नेपाली सेनाका दुई फिल्ड अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

सैनिक प्रवक्ता तथा सहायकरथी सन्तोष बल्लभ पौडेलका अनुसार सेनाध्यक्ष नरवणेले नेपाली सेनालाई एक्स–रे केसिन, आईसीयू भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, एम्बुलेन्सलगायको स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

यस्तै नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापाले पनि भारतीय सेनाको लागि नेपालमै निर्मित १ लाख थान मेडिकल माक्स र शान्तिको प्रतिक भगवान बुद्धको प्रतिमा सेनाध्यक्ष नरवणेलाई प्रदान गरेको प्रवक्ता पौडेलले बताए ।

यसपछि सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । शीतल निवासमा हुने विशेष कार्यक्रममा राष्ट्रपति विदादेवी भण्डारीले नरवणेलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्नेछिन् ।

दज्र्यानी चिन्ह ग्रहण गरेपछि सेनाध्यक्ष नरवणेले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् । राष्ट्रपति कार्यालयमा कार्यक्रम सकिएपछि भारतीय सेनाध्यक्ष नरावणे सैनिक मुख्यालय जंगी अड्डा आउने कार्यक्रम छ, जहाँ प्रधानसेनापति थापाले उनको सम्मानमा रात्रीभोजको आयोजना गरेका छन् । रात्रिभोजमा भारतीय डेलिगेसन टोली र नेपाली सेनाका सिनियर अधिकृत सहभागि हुने बताइएको छ ।