Logo

बागमती पेज

पुस २३, २०७७ बिहीबार

नेकपा विवाद आफ्नै पार्टीभित्रको आन्तरिक समस्या होः मुख्यमन्त्री पौडेल


काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले केही व्यक्तिको पद प्राप्तिको अतृप्त चाहनाका कारण नेकपाभित्र समस्या उत्पन्न भएको बताएका छन् ।

हेटौँडाको पदमपोखरीमा नेकपाका अगुवा कार्यकर्ता भेलामा आज उनले केपी ओली नेतृत्वको सरकारलाई नेकपा भित्रैबाट असहयोग भएको दाबी गरे । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारलाई काम गर्न नदिने खेल शुरु भइसकेको उल्लेख गर्दै सरकारलाई अस्थीर बनाएर विकासका गतिविधि रोक्ने खेल प्रतिपक्षभन्दा पनि आफ्नै दलका नेताले शुरु गरेको आरोप लगायका छन् ।

पौडेलले आफूलाई हटाउन आफ्नै जिल्ला र दलका व्यक्ति लागेकाले उनीहरुलाई मकवानपुरका जनताले जिल्लाको विकास विरोधीका रुपमा बुझ्नुपर्ने धारण समेत व्यक्त गरेका थिए ।

नेकपाकी केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले जिल्लाका विकास प्रेमी नेता मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर मकवानपुरे जनतालाई अविश्वास गरेको बताए । समग्र प्रदेशमा विकासका लागि मरिमेटेका उनै मुख्यमन्त्रीलाई हटाउन आफ्नै जिल्लाका केही नेता लागेको भन्दै केन्द्रीय सदस्य श्रेष्ठले राजधानी भएको हिसाबले मकवानपुरमा बढीनै विकासका परियोजना परेको उल्लेख गर्दै जिल्लाको विकास नचाहनेले मुख्यमन्त्री परिवर्तनको खेल शुरु गरेको धारणा व्यक्त गरे ।

नेकपा मकवानपुरका युवा नेता तथा हेटौँडा उपमहानगरपालिका-१४ का वडाध्यक्ष दीपक खड्काले हेटौँडालाई प्रदेशको राजधानी, हेटौँडा अस्पताललाई ३०० बेडको मदन भन्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण, भीमफेदी कुलेखानी सुरुङ मार्ग निर्माणको थालनी, हेटौँडा-६ मा दुई हजारसम्म युवा पढ्न सक्ने बहुप्राविधिक महाविद्यालय, गौरीटार वृहत रङ्गशाला, प्रदेश चक्रपथ, काठ चक्रपथ, विद्युतीय बसको शुभारम्भ, पालिका सदरमुकाम सुगम पार्न पक्की सडक निर्माणको कार्य प्रारम्भलगायत समग्र विकासको ऐतिहासिक नेतृत्व गरिरहेको  मुख्यमन्त्री पौडेलविरुद्ध लाग्न नहुने बताए ।