Logo

बागमती पेज

पुस २४, २०७७ शुक्रबार

चिसोका कारण नमूना बस्तीमा तीन जनाको मृत्यु


काठमाडौं । हास्य कलाकार धुर्मुस सुन्तलीले महोत्तरी जिल्लाको बर्दिबासमा बनाएको एकीकृत नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ ।

बीस दिनका अवधिमा स्थानीयवासी रामरती सदाका घरमा एक बुहारी, एक नाति र एक नवजात नातिनीको मृत्यु भएको हो ।

पत्रकारको एक समूह मुसहरको एकीकृत बस्तीमा उनीहरुको अवस्थाबारे सोधखोज गर्न जाँदा रामरतिको परिवारमा ठूलो बज्रपात भएको खुलासा भएको हो ।

ओढ्ने, ओछ्याउने, पर्याप्त न्यानो लुगाफाटा (सिरक, डसना) तथा तातो खानेकुराका अभावमा यही पुस ९ गते रामरतिकी ३५ वर्षीया गर्भवती बुहारी सितोलाई अत्यधिक चिसो लागेको र अत्यधिक रक्तश्राव भएपछि उनलाई उपचारका लागि बर्दिबास अस्पतालमा लगिएको थियो ।

उनले रक्तश्रावकै बीच छोरी जन्माएकी थिइन् । केहीबेरको अस्पताल बसाइपछि नै उनको मृत्यु भएको थियो । साथै नवजात शिशुको पनि जन्मेको ६ घण्टामै मृत्यु भयो ।

एकैसाथ बुहारी र नातिनीको मृत्युपछि रामरतिका घरमा शोक छाएको थियो । सामाजिक, धार्मिक परम्परानुसार उनको क्रियाकर्म गर्दै गर्दा गत मङ्गलबार १३ औंँ दिनका पुण्यतिथिमा अचानक उनका अर्का आठ महिने नाति (हरिनारायण सदाका माहिला छोरा) आठमहिने प्रभासको पनि मृत्यु भएको रामरतिले जानकारी दिए ।

गरीबी र विपन्नताका जाँतोमा पुस्तौँपुस्ता पिल्सिँदै आएकी रामरतिको परिवारलाई बन्दाबन्दीले झन् विपन्न बनाएका बेला यसपालिको चिसोले २० दिनकै अन्तरालमा परिवारका तीन सदस्य  बितेका हुन् । सो बस्तीमा ३५० परिवार दलित मुसहर रहेकामा हाल १८  सुत्केरी र १०  गर्भवती  छन् ।