Logo

बागमती पेज

चैत्र ३, २०७७ मंगलबार

गोकर्णेश्वरले पहिलो पटक शुरु गर्यो तन्नामा बुट्टा भर्ने तालिम


काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा पहिलो पटक तन्नामा बुट्टा भर्ने (प्याच वर्क) तालिम शुरु गरिएको छ । सोमबारबाट गोकर्णेश्वर नगरपालिका-८ डांडागाउँमा रहेको महांकाल भैरव महिला समूहको आयोजनामा उक्त नयाँ तालिमको शुरुवात गरिएको हो ।

गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा भएको प्याच वर्क तालिम कार्यक्रम नगर प्रवक्ता तथा वडा नं. ८ का वडाध्यक्ष मनोज कुमार ढुंगानाले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रवक्ता तथा वडा नं ८ का वडाध्यक्ष मनोजकुमार ढुंगानाको नगरपालिका भित्र रहेका व्यक्तिहरुलाई विभिन्न सीपमुलक तालिम दिएर आत्मनिर्भर बनाउन नगरपालिका लागि परेको बताए । महिलाहरु आर्थिक रुपमा सक्षम नहुदाँ समाज पछि परेको जानकारी गराउँदै महिला लक्षित प्याच वर्क तालिमले महिलाहरुलाई स्वरोजगार बनाउन महत्वपूणर् भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रवक्ता ढुंगानाले कुनै पनि सीप सिकेपछि व्यवसाय संचालनका लागि पेरित गर्ने तथा प्रत्यक्ष रुपमा आयआर्जन तथा व्यवसायसँग जोडिने किसिमका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको धारणा राख्दै नगरले विभिन्न महिला लक्षित कार्यक्रम संचालन गर्दै आएको बताए ।

महांकाल भैरव महिला समूहकी अध्यक्ष सुनिता श्रेष्ठको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल, समाजसेवी भावना ठकुरी, समाजसेवी सरिता रिसाल, समाज सेवी याङ्जी योन्जान लामा, लगायत महिला समूहका पदाधिकारी तथा प्रशिक्षक सुनिता कार्की लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

पहिलो पटक तन्नामा बुट्टा भर्ने (प्याच वर्क) तालिम कुल २ लाख ५० हजारको लागतमा गर्न लागिएको हो । चैत्र २ गतेबाट चैत्र १७ गते सम्म हुने तालमि प्रत्येक दिन विहान ११ बजे देखि २ बजे सम्म संचालन हुनेछ ।