Logo

बागमती पेज

चैत्र २९, २०७७ आईतबार

नयाँ वर्षमा नुवाकोटको शिवपुरीमा रेस्लिङ महाभिडन्त हुने


नुवाकोट। नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सुर्यचौरमा वैशाख १ गते रेस्लिङको महाभिडन्त हुने भएको छ । आरडब्लु समर स्लाइम अन्तर्गत नयाँ वर्ष २०७८ को अवसरमा आयोजना हुन लागेको प्रतियोगितामा नेपाल रिङ रेसलिङ संघको आयोजना र शिवपुरी गाउँपालिकाको सह आयोजना हुन लागेको हो।

नयाँ वर्षका दिन दिउँसो २ बजे सुरु हुने भिडन्तमा हेभी वेट अन्तर्गत राष्ट्रिय रिङ रेस्लिङ विजेता नुवाकोटे टाइगर र चट्टान भिडने छन् । त्यस्तै लाइट हेभीतर्फ डेभिड र साइन, हलुका तौलमा एक्स हिरो र सिजे भिड्नेछन् । महिलातर्फ तानु, दिलसा र डेनिकाबीच भिडन्त हुनेछ भने हार्ड कोरतर्फ द युब र थागु भिड्नेछन् । प्रतियोगितामा बिकास खड्काले रेफ्रीको भूमिका निभाउने छन् ।

आइतवार शिवपुरी गाउँपालिकास्थित सूर्यचौरमा पत्रकार सम्मेलन गर्दै नेपाल रिङ रेसलिङ प्रतियोगिताको बारेमा जानकारी गराएको छ। कार्यकंममा संघकी महासचिव सुर्वण श्रेष्ठ र कोषाध्यक्ष कमल तामाङ लगायात शिवपुरी गाउँपालिकाका अध्यक्ष राम कृष्ण थापा सहित वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

राजधानी काठमाडौंदेखि नजिकै रहेको शिवपुरी गाउँपालिकाको पर्यटकीय गन्तव्य सूर्य चौरलाई थप पहिचान दिलाउन नेपाल रिङ्ग रेस्लिङ्ग संघको आयोजना, गाउँपालिकाको सह आयोजना र राष्ट्रिय खेलकुद परिषद, खेलकुद विकास परिषद बागमती प्रदेशको सहयोगमा उक्त प्रतियोगिता गर्न लागिएको संघले जनाएको छ ।

प्रतियोगितामा १६ खेलाडीहरुले ५ वटा समूहमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको लाईट वेट तौल समुहको विजेताले नगद ८ हजार, ट्रिपल थ्रेटले नगद १० हजार, लाईट हेभी वेटको विजेताले नगद १२ हजार, हार्डकोरका विजेताले नगद १५ हजार र हेभी वेट विजेताले नगद २० हजार प्राप्त गर्नेछन् ।