Logo

बागमती पेज

बैशाख १०, २०७८ शुक्रबार

कृषकहरुलाई आधुनिक बैंकिङ्गमा लैजाँदै मेगा बैंक


काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कृषकहरुलाई आधुनिक बैंकिङ्ग सुविधाका लागि प्रोत्साहन गर्ने नीति लिएको छ ।

नेपालको अर्थतन्त्रको अभिन्न अंगका रुपमा रहेका कृषकहरुलाई आधुनिक बैंकिङ्ग सुविधाको प्रयोग गर्नका लागि प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले क्यूआर कोड सुविधालाई तीब्रताका साथ विस्तार गरिरहेको हो ।

यसैक्रममा कृषि क्षेत्रमा डिजिटल बैकिङ्गलाई प्रबद्र्धन गर्न मेगा बैंकले ललितपुरको कुसुन्तीस्थित सांग्रिला एग्रो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौता अनुसार, मेगा बैंकले सांग्रिला एग्रोले कुसुन्तीमा सुरु गर्न लागेको तरकारी तथा फलफुल बजारसँग आबद्ध सबै कृषि उत्पादक तथा बिक्रेतालाई बैंकिङ सुविधा तथा कर्जा सुविधा प्रदान गर्नेछ ।

यसका साथै, सांग्रिला एग्रोसँग आबद्ध कृषक र बिक्रेताहरुलाई निःशुल्क क्यूआर कोडको ब्यवस्था गरिनेछ भने क्यूआर कोड प्रयोग गरी तरकारी तथा फलफुल खरिद गर्ने ग्राहकहरुलाई १० प्रतिशतसम्म छुट अथवा बढीमा ५ सय रुपैंयासम्म छुटको ब्यवस्था गरिएको मेगा बैंकले जनाएको छ । यस सम्बन्धी सम्झौतापत्रमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र सांग्रिला एग्रोका अध्यक्ष गणेशबहादुर सुवेदीले हस्ताक्षर गरे ।

केही दिनअघि मात्रै मेगा बैंकले काठमाडौं उपत्यका र आसपासका गोलभेंडा उत्पादक कृषकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले कर्मा समूहसँग सम्झौता गरेको थियो भने जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारसँग आबद्ध तरकारी व्यवसायी र तरकारी बिक्रेतालाई क्यूआर कोड वितरण गरेको थियो ।

नेपालको आधारभूत तहमा रहेका कृषकहरुलाई आधुनिक बैकिङ्ग तर्फ आकर्षित बनाउन सके बैकिङ्ग सेवाको विस्तारले पनि तीब्रता पाउने मेगा बैंकको विश्वास छ ।