Logo


सरकार !
मलाई थाहा छ
मर्नु त एक दिन अवस्य छ
र पनि
किन बनाउछस् शवदाह घर ?
किन बनाउदैनस्
त्यही पैसाले
अक्सिजनका प्लान्टहरु ?
किन रुवाउँछस् बिनासित्ती आर्यधाटहरु ?
किन छुदैन तेरो मन
फेसबुकभरी छरिएका श्रद्धाञ्जलीहरुले ?

तँलाई जनता बढी भएको भए
भन्दे न सरकार
हामी टुँडिखेलमै गोलि खाउँला
तँलाई जनसंख्या नियन्त्रण गर्नु छ भने
भन्दे न सरकार
हामी अपुताली नै बसुँला
तर,
किन मार्छस् हामीलाई अस्पतालको पेटिमा ?
अनागरिक बनाएर
किन दिन्नस् हामीलाई देश अनुभूत गर्न ?

सरकार…!
मैले गाँस काटेर
तेरो ढुकुटी भरेकै त थिएँ
मैले मेरो बास काटेर
बनाकै थिए त तेरो निबास
आफू पैदल हिडेर
दिएकै थिएँ त तँलाई पजेरो अनि ल्याण्डक्रुजर
अहिले
म जीवनको अन्तिम स्वास लिइरहँदा
खै मलाई आसियु ?
खै मलाई भेण्टिलेटर ?
खै मलाई अक्सिजन ?

ए सरकार…!
म तेरो लागि बोझ भएँ भने भन्न
म सुलिमा चढ्न तयार छु
किन तड्पाउछस् खुल्ला आकाश मुनि
किन थिच्छस्
म निरीह नागरिकको गला ?
किन फ्लोर क्रस गर्दैनन् तेरा एबुलेन्सहरु ?
धरहरा सिलन्यास गर्छस्
किन गर्दैनस् अस्पतालहरु
रानिपोखरी सिलन्यास गर्छस्
किन गर्दैनस् अक्सिजन प्लान्टहरु
के अस्पताल
राष्ट्रीय गौरवका आयोजनामा पर्दैनन् ?
के बेरोसिल र कोभिसिल्ड उत्पादन
राष्ट्रीय गौरवको आयोजनामा पर्दैनन् ?
अब तैले सिलन्यास गरेको बाटोमा को हिड्छ्न्
मुर्दाका लामहरु ?

सरकार…!
जनताको बिस्वास लिएको भए
तैले सन्सदमा बिश्वासको मत लिन पर्थ्यो र ?
जनतालाई माया गर्न जानेको भए
तैले कुर्सिमै टाँसिरहन गर्न किन पर्थ्यो र ?

सरकार…!
हेर् श्रद्धान्जलि लेख्दा लेख्दा
मेटिन लागेका मेरा हातका रेखाहरु
फुट्न लागेका मेरो धर्यताको बाँधहरु
शितल निबास….!
मेरो जिवन रक्षाका लागि
फेरि एउटा अध्यादेश जारी गर्
सिंहदरबार..!
सांसद हैन
अक्सिजन र कोभिसिल्ड खरिद गर्
फ्लोर क्रस गर
मेटाईदे सारा खरीद प्रक्रियाका
प्रतिकृयाबादी दफा उपदफाहरु
बगाइदे खोला भेरोसेलको
ढाकी दे अक्सिजन

शान्त बना आर्यघाटहरु
गाँसी दे चुडिएका मुटुहरु
पुछी दे आँशुले डुबेका कोभिड पिडित आँखाहरु !