Logo

बागमती पेज

असार १, २०७८ मंगलबार

बागमतीको बजेट ५७ अर्ब ७२ करोड


काठमाडौँ । आगामी आर्थिक वर्ष २०७८र०७९ का लागि बाग्मती प्रदेश सरकारले कुल ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

आज बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखर बजेट सार्वजनिक गरेका हुन् ।

आगामी आर्थिक वर्षका लागि पूँजीगत तर्फ २९ अर्ब १ करोड ७७ लाख ४३ हजार रुपैयाँ र चालुतर्फ २६ अर्ब १ करोड ४६ लाख २३ हजार रुपैयाँ र वित्तीय तर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन प्रदेश सरकारले गरेको छ ।

सरकारले खर्चको व्यवस्थापनमा भने कर राजस्वबाट २३ अर्ब ८२ करोड, राजस्व बाँडफाँटबाट ६ अर्ब ८२ करोड, संघीय सरकारको वित्तीय हस्तान्तरणबाट प्राप्त हुने १६ अर्ब ९२ करोड, विविध प्राप्ति एक अर्ब पाँच करोड र चालु आर्थिक वर्षको नगद मौज्दात नौ अर्ब १० करोड रुपैयाँ हुने अनुमान गरेको मन्त्री ढुंगेलले बताए । साथै, उनले सडक पूर्वाधार, शिक्षा पूर्वाधार, पर्यटन पूर्वाधार र स्वास्थ्य पूर्वाधारलाई पनि प्राथमिकतामा राखेको जानकारी दिए ।