Logo

बागमती पेज

असार ५, २०७८ शनिबार

राहत वितरण गर्न सिन्धुपाल्चोक पुगेकी आँचलले भनिन्, ‘यहाँको अवस्था कहालीलाग्दो छ’


नायिका आँचल शर्मा केहीसमयदेखि सामाजिक कार्यमा सक्रिय देखिन थालेकी छिन् । कोरोनाको समयमा उनले समस्यामा परेकाहरुको लागि खाद्यान्न सहयोग गरेकी थिइन् । अहिले पनि केहीदिन देखि निरन्तर परेको बर्षाले देशको विभिन्न ठाउँमा ठूलो क्षति पुर्याएको छ ।

विशेष सिन्धुपाल्चोकको अवस्था निकै नै नाजुक देखिएको छ । लगातार परेको बर्षाका कारण यतिबेला बाढी पहिरोले गर्दा सिन्धुपाल्चोकका बासीको बेहाल भैरहेको छ । यसैबिचनायिका आँचल शर्मा र उनका टिमले बिहिबार सिन्धुपाल्चोक पुगेर सहयोग वितरण गरेको छ । नायिका आँचलको साथमा निर्देशक मिलन चाम्स, बसन्त निरौला, कलाकार रितेश चाम्स, ओएसआर डिजिटलका प्रमुख ओम अग्रवाल लगायतको टिमले सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीबाट विस्थापित भएका परिवारलाई खाद्यन्न वितरण गरेको हो ।

सिन्धुपाल्चोक पुगेर फर्किएपछि नायिका आँचल शर्माले त्यहाँको परिस्थिती कहालीलाग्दो रहेको उल्लेख गरेकी छिन् । उनले, सबैको सपना मेलम्चीले बगाएर लगेको भन्दै सबै नेपालीहरु एकजुट भएर सिन्धुपाल्चोकबासीका बगेका सपनालाई पूल बनेर पुरानै लयमा फर्काउनुपर्ने बताएकी छिन् ।

त्यसका साथै आँचलले अहिले देशको हालत खराब भएकाले अरुले पनि आफ्नो तर्फबाट जति सकिन्छ त्यति सहयोग गर्न आवश्यक रहेको बताउँदै सबैलाई सहयोग गर्नको लागि अपिल गरेकी छिन् । आँचलसँगै अन्य कलाकारहरु पनि निरन्तर रुपमा सहयोगमा लागिरहेका छन् ।