Logo

बागमती पेज

असार १२, २०७८ शनिबार

सूर्यविनायक नगरपालिकाको पहिलो प्राथमिकतामा स्वास्थ्य


काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाको आ.व. २०७८/७९ को नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

नगर प्रमुख बासुदेव थापाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । नगरले कोभिड-१९ लाई मध्यनजर गर्दैै विगतका वर्षमा भन्दा यस वर्ष स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता दिईएको हो ।

कोभिड नियन्त्रण तथा रोकथामका लागि वडास्तर देखि नै लक्षित कार्यक्रम संचालन गरिने छ । त्यसैगरी कोभिड विरामीका लागि नियमित स्वास्थ्य जाँच, परीक्षण र औषधी उपचारको प्रवन्ध गरिने छ ।

जसका लागि कोभिड महामारी विरुद्धको अभियान डटेर सामना गर्न सूर्यविनायक नगरपालिकाको सामुहिक आह्वान अभियान संचालन गरिने छ । कोभिड विरुद्ध खोज पड्ताल, निःशुल्क स्वाब संकलन तथा परिक्षण र कोप कार्यलाई चरणबद्ध अभियानको रुपमा संचालन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

सूर्यविनायक अस्पताललाई आगामी दिनमा विशिष्टिकृत सेवा सहित सबै प्रकारका स्वास्थ्य सुविधा उपलब्ध गराईने र सुविधा सम्पन्न अस्पताल संचालन गरिनेछ ।