Logo

बागमती पेज

असार १५, २०७८ मंगलबार

कृषि यान्त्रिकरणमा भरतपुर महानगरको जोड: किसानलाई अनुदानमा ट्र्याक्टर


चितवन – कृषि यान्त्रिकरणमा जोड दिँदै आएको भरतपुर महानगरपालिकाले किसानहरुलाई अनुदानमा ट्र्याक्टर वितरण गरेको छ । महानगरले कृषि यान्त्रिकरणमा कार्यक्रम अन्तर्गत आज (सोमबार) महानगर भित्रका कृषक समूहलाई ट्र्याक्टर वितरण गरेको हो ।

म्हानगरले आज ६ वटा ट्र्याक्टर र एउटा मिनी टेलर किसानहरुलाई हस्तान्तरण गरेको हो ।ट्र्या क्टर हस्तान्तरण गर्दै मेयर रेनु दाहालले महानगरले कृषिलाई बिशेष प्राथमिकतामा राखेको बताईन् । उनले आगामी आर्थिक वर्ष २०७८/८९ को बजेटमा पनि कृषिलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको बताईन् ।

भरतपुर कृषिमा राम्रो सम्भावना बोकेको क्षेत्र भएकोले यहाँका किसानहरुलाई थप उत्प्रेरित गर्नका लागि महानगरले अनुदानमा कृषि यन्त्रहरु उपलब्ध गराउदै आएको उनको भनाई थियो । ‘भरतपुर कृषिमा राम्रो सम्भावना बोकेको पालिका हो, यहाँ सम्भावनाको स्रोत भएकोले महानगरले पनि जोड दिएको छ, उनले भनिन्, यसले किसानहरुलाई कृषि पेशामा लाग्न उत्प्रेरित गर्नेछ ।’

यस्ता सहयोगले कृषिमा लागेकालाई कृषि नै मुख्य पेशा बनाएर अघि बढ्न मद्दत मिल्ने मेयर दाहालको भनाई थियो । युवाहरुलाई बिदेश पलायन हुन नदिई ठुलो सम्भावना बोकेको कृषि पेशामा लाग्न प्रेरित गर्नका लागि महानगरले आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने उनको प्रतिवद्धता थियो ।

महानगरले आगामी आर्थिक वर्षको बजेटमा पशुपालक किसानहरुलाई दुधमा प्रति लिटर ३ रुपैयाँ अनुदान दिने गरी बजेट बिनियोजन गरेको छ । यस अघि प्रति लिटर १ रुपैयाँ अनुदान दिँदै आएकोमा महानगरले आगामी वर्षदेखि २०० प्रतिशत बढी प्रति लिटर ३ रुपैयाँ दिने भएको थियो । महानगरको उक्त कार्यक्रमको किसानहरुले स्वागत गरेका छन् । आगामी दिनमा किसानको हितमा हुने यस्तै अन्य कार्यक्रमहरु गर्दै जाने मेयर दाहालले बताईन् ।

उपमेयर पार्वती शाह ठकुरीले महानगर सधैं कृषकहरुको साथको रहेको बताईन् । यस्ता अनुदान र सहयोगले बिदेश पलायन हुन लागेका र बिदेशबाट फर्किएका युवाहरुलाई आफ्नै माटोमा रगत पसिना बगाउन उर्जा मिल्ने उनको भनाई थियो ।

अनुदानमा ट्र्याक्टर प्राप्त गरेका बिमल एग्रोफर्म एन्ड रिसर्च सेन्टरका तिर्थ सुवेदीले महानगरबाट प्राप्त अनुदानले किसानहरुलाई खुशी बनाएको बताए । उनले यस्ता सहयोग र अनुदानले किसानहरुलाई उर्जा मिल्ने समेत बताए । यस्तै उनले प्राप्त ट्र्याक्टर खनजोतसँगै ठुला मेसिनसँग जडान गरेर कृषि सम्बन्धी धेरै कामका लागि प्रयोगमा ल्याउन सकिने बताए ।

यस्तै उन्नत बिज वृद्धि कृषक समूह भरतपुर १४ का उपाध्यक्ष वोदराज सापकोटाले किसानहरुको सहजताका लागि महानगरले अनुदानमा ट्र्याक्टर वितरण गरेको भन्दै खुशी व्यक्त गरे । यसले कृषि उत्पादनमा धेरै सहयोग मिल्ने उनको भनाई थियो ।

महानगरले अनुदानका लागि परेका ४३ वटा आवेदन मध्ये १३ वटालाई छनोट गरेको थियो । जसअन्तर्गत आज ६ वटा ट्र्याक्टर र एउटा मिनी टेलर वितरण गरिएको हो । यस अघि आइतबार पनि महानगरले बृहश्पती आधुनिक एग्रो फर्मलाई ५० प्रतिशत अनुदानमा धान रोप्ने अत्याधुनिक मेसिन (राईस टान्सप्लान्टर ) हस्तान्तरण गरेको थियो ।

महानगरका आर्थिक बिकास महाशाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेलले कृषि यान्त्रिकरणमा महानगरले जोड दिदै आएको बताए । उनले कृषिमा भरतपुर आधुनिकिकरणमा लागेको महानगरले पनि यान्त्रिकरणमा जोड दिएको उनको भनाई थियो । अहिले महानगरले बोरिङ्ग, डिपबोरिङ्ग, नर्सरी, फलफुल बगैँचा लगायतका कामहरु पनि गरिरहेको उनले बताए ।