Logo

बागमती पेज

असार २७, २०७८ आईतबार

राष्ट्रियसभामा बाढी-पहिरोदेखि जलवायु परिवर्तनसम्म सरकारको ध्यानाकर्षण


राष्ट्रियसभाका सदस्यले बाढी, पहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल राहत दिन र कोभिड–१९को उपचार तथा रोकथाममा प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा नेकपा (एमाले) का इन्दिरादेवी गौतमले सरकारले बजेटमा जन जिविकाका विषयवस्तु समेटेर ल्याएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवालाबीच आवश्यक समन्वयको खाँचो औंल्याइन् । उनले कोभिड–१९ को नयाँ भाइरस देखिएको उल्लेख गर्दै यसको रोकथाम र आवश्यक तयारी गर्न सरकारलाई सुझाव समेत दिइन् ।

नेपाली काँग्रेसका अनिता देवकोटाले वर्तमान सरकारले लोकतन्त्रको मूल्य मान्यता विपरित काम गरिरहेको आरोप लगाउँदै सदनलाई मर्यादित र जनचासोका कुरा राख्ने थलोका रुपमा लैजानेतर्फ सरकारले ध्यान दिनुपर्ने बताइन् । उनले बाढीपहिरो पीडितलाई उचित राहतको व्यवस्था गर्न र कोभिड–१९ बाट आक्रान्त जनताका लागि उचित मात्रामा खोपको सुनिश्चितता गर्न माग गरिन् ।

नेकपा (माओवादी केन्द्र) का तारामान स्वाँरले कोरोनाले मुलुकको आर्थिक, सामाजिक, शैक्षिक र पर्यटनको क्षेत्र तहसनहस भएपनि सरकारले त्यसलाई उचित सम्बोधन गर्ने सुधारका कार्यक्रम ल्याउन नसकेको आरोप लगाए । उनले भने, “लोकतन्त्र स्थापनाका आन्दोलनमा सहयात्रीका रूपमा रहेका राजनीतिक दलबीच सहमतिका आधारमा प्राप्त उपलब्धी जोगाउन सहकार्यको आवश्यकता छ, तर त्यसमा प्रधानमन्त्रीबाट प्रभावकारी भूमिका हुन सकेन । ”

जनता समाजवादी पार्टी नेपालका प्रमिलाकुमारीले निरन्तरको वर्षाबाट आएको बाढी कारण सप्तकोशीको वहाव बढेसँगै आसपासका सप्तरी र सुनसरीबासी भयभित भएको बताइन् । उनले भनिन्, ‘बाढी नियन्त्रण गर्न योजना बनाएर काम गर्नुस्, पीडितलाई राहत उपलब्ध होस् । ”

नेकपा ९माओवादी केन्द्र० का गंगाकुमारी बेल्वासेले अहिले कतिपयले जनयुद्धको कुरा उठाएर गलत प्रचार गरिरहेको बताउँदै हालसम्म विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धी रक्षाका लागि सबैको ध्यान जानुपर्नेमा जोड दिइन् । राष्ट्रियसभाका मनोनित सदस्य डा।बिमला राई पौडेलले सामाजिक सञ्जालमा राष्ट्रपतिलगायत अन्य सम्मानित संस्थाप्रति अमर्यादित शब्दको प्रयोग देखिएको तर्फ ध्यानाकर्षण गराउँदै त्यसप्रति दुःख व्यक्त गरिन् ।

एमालेकै शान्तिकुमारी अधिकारीले सङ्घ र प्रदेशको क्षेत्राधिकारको खिचातानीले व्यवस्थाप्रति जनमानसमा गलत सन्देश प्रवाह भएको बताइन् । उनले कोभिड–१९ को उपचार र रोकथाममा अग्रभागमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्न सरकारसँग मागसमेत गरिन् ।

स्वतन्त्र सदस्य डा।खिमलाल देवकोटाले सिंहदरबारका अधिकांश जिम्मेवारी गाउँमा पुगेको भए पनि त्यसको तुलनामा सङ्घबाट उपलब्ध गराइने निसर्त अनुदान कम भएको बताए । पहुँचवालाको इच्छाअनुसार मठमन्दिर, भ्यू टावर निर्माणमा स्थानीय तहको बजेट खर्चिने परम्परा उचित नभएको उनको टिप्पणी थियो ।

एमालेकै सुमित्रा बिसीले बाढी, पहिरो र डुबान प्रभावित जनतालाई उचित राहतको तत्कालीन र दीर्घकालीन राहतको व्यवस्था गर्न माग गरिन् । कोरोना विरुद्धको खोपलाई व्यवस्थित रूपले सबैको पहुँचमा पुग्ने गरी वितरण गर्न र अग्रभागमा खटिइ काम गर्नेलाई विशेष भत्ता उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइन् ।

एमालेका परशुराम मेघी गुरुङले पृथ्वीको तापमान बढ्दै जाँदा त्यसको असरले नेपालको हिमालमा हिउँ पग्लिने क्रम बढेको तथ्याङ्क प्रस्तुत गर्दै यसले मानव जनजीवनलाई प्रभाव पार्ने बताए । जलवायुको असरबाट कृषि प्रणाली र रहनसहनमा पर्ने प्रभावका बारेमा सोच्नुपर्ने बेला आएको बताउँदै उनले जीवन रक्षाका लागि पनि हावा, पानी, माटो संरक्षणका लागि सबैको योगदान आवश्यक रहेकामा जोड दिए ।