Logo

बागमती पेज

श्रावण २२, २०७८ शुक्रबार

बूढानीलकण्ठ स्कुलमा निःशुल्क अध्ययनका लागि आवेदन खुला


काठमाडौं । राजधानीको बूढानीलकण्ठ स्कुलमा गरिब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्तिमा अध्ययनको अवसर दिनेगरी आवेदन खुला गरिएको छ ।

बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रम अन्तरगत शिक्षा मन्त्रालयले प्रकाशित गरेको सूचनाअनुसार कक्षा ५ देखि अध्ययनका लागि २०६७ वा ०६८ सालमा जन्म भइ कम्तीमा २ वर्ष अघिदेखि स्थानीय सामुदायिक विद्यालयमा नियमित रुपमा अध्ययन गरी शैक्षिक सत्र २०७७ मा कक्षा ४ अध्ययन पुरा गरेका छात्र–छात्राले आवेदन दिन सक्नेछन् ।

आवेदनपछि छनौटमा परेकाले निःशुल्क वा सहुलियत शुल्कमा अध्ययनको अवसर त्यस्ता छात्रछात्राले पाउनेछन् ।

इच्छुक उम्मेदवारले स्कुल वा शिक्षा विभागको वेबसाइटबाट फाराम डाउनलोड गरी आफूलाई पायक पर्ने परीक्षा केन्द्रमा परीक्षा सुरु हुनु अगावै बुझाउनुपर्नेछ । परीक्षा मिति साउन ३० गते शनिबार ११ बजेका लागि तोकिएको विद्यालयका प्राचार्य होमनाथ आचार्यले बताए ।

परीक्षा केन्द्र इलाम, विराटनगर, हिले (धनकुटा), गाईघाट (उदयपुर), राजविराज, जनकपुर, लालबन्दी, कलैया, खुर्कोट, दोलालघाट, हेटौंडा, गोरखा, बेसीसहर, पोखरा, बेनी, बुटवल, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर, चौरजहारी, जुम्ला, अत्तरिया र डडेलधुरामा चयन गरिएको छ । यस्तै काठमाडौंको हकमा बूढानीलकण्ठ स्कुलमै परीक्षा केन्द्र तय गरिएको छ।

यो कार्यक्रमअनुसार जिल्ला नदोहोरिने गरी ७७ जना छनौट हुने सूचनामा उल्लेख छ ।