Logo

बागमती पेज

श्रावण २२, २०७८ शुक्रबार

वर्तमान सरकारले मुलुक चलाउन र जनतालाई सुरक्षा दिन सक्दैन : कोमल वली


काठमाडौं । नेकपा एमाले राष्ट्रिय सभाकी सदस्य कोमल वलीले दार्चुला घटनाबारे शेरबहादुर देउवा नेतृत्वको सरकारले भारत सरकारसँग कुरा गर्न नसकेको भन्दै बीपी कोइरालाको प्रसंग उठाएकी छन् ।

उनले दार्चुलामा भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानले तुइन काटिदिँदा नेपाली युवा जयसिंह धामी महाकालीमा बेपत्ता भएको घटनाको विषयमा सरकार असफल भएको आरोप लगाउँदै उनले यस्तो बताएकी हुन् ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले दार्चुलाका युवाले न्याय पाउने गरी काम गर्न नसकेको भन्दै उनले बीपी कोइरालाको अपमान भएको बताइन् । दार्चुला घटनामा सरकारले छानबिन समिति गठन गरेर टार्न खोजेको उनको आरोप छ ।

उनले कांग्रेसलाई व्यंग्य गर्दै उनले भनिन्, ‘उहाँहरू भन्नहुन्छ हामी नेपाली कांग्रेस हौँ । बीपीका अनुयायीहरू हौँ । भारतीय प्रधानमन्त्री नेहरुले नेपालको हिमालसम्मको सुरक्षा हामी गर्छौ भ नेहरुसँग असहमति जनाएर हाम्रो सुरक्षा हामी नै गर्छौ भनेर बोल्ने बिपी कोइरालाको त्यो इतिहास कहाँ गयो ?’

वीपी कोइरालाले छिमेकी देश भारत र चीनसँग ठाडै सम्वाद गर्ने गरेको स्मरण गराउँदै यस विषयमा सरकारले भारतसँग कुरा गर्न नसक्नु वीपीकै अपमान भएको उनको भनाइ थियो ।

वर्तमान सरकारले मुलुक चलाउन नसक्ने र जनतालाई सुरक्षा पनि दिन नसक्ने उनले बताइन् ।