Logo

बागमती पेज

श्रावण २९, २०७८ शुक्रबार

‘मास्क’ अभियान तीव्र, एकैदिन ६५ हजारले पाए


कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि मुलुकभर नै मास्क वितरण अभियानलाई तीव्रता दिइएको छ । नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा मात्रै ६५ हजार ८६९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उक्त अभियानमा वैशाख ६ यता सात लाख चार हजार ३७६ जनालाई मास्क वितरण गरी सकिएको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन प्रभावकारी बनाउने प्रहरीले उक्त अभियानलाई पुनः प्रभावकारी बनाउन थालेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

“सङ्क्रमणबाट ‘आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईको मास्क खै ?’ लगायत विभिन्न सचेतनामूलक कार्यक्रमलाई प्रहरीले ७७ वटै जिल्लामा अभियान कै रुपमा सञ्चालन गरिरहेको छ । पछिल्लो समयमा कोभिड–१९ को वृद्धिसँगै तेस्रो भेरियन्ट आउनसक्ने चेतावनीका बीच मुलुकभर नै सचेत हुन सरकारले नागरिकसँग आग्रह गरेको छ ।

प्रहरीका अनुसार आज कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने २५७ लाई रु २५ हजार ७०० जरिवाना गरिएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड पालना नगर्ने ११ हजार ८९७ लाई सचेत गराइ छाडिएको छ । साथै देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेटसहित २९९ कार्यक्रममार्फत ५८ हजार २८२ जनालाई सचेत गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियान कै रूपमा मास्क वितरण गरेको थियो । सङ्क्रमण घट्दै जाँदा पछिल्लो समयमा मास्क वितरण प्रभावकारी हुन नसकिरहेका बेला पुन अभियानलाई तीव्रता दिइएको छ । नेपाल सरकारले पनि सही रुपमा मास्क लगाउन र नलगाउनेलाई मास्क लगाउनका लागि प्रेरित गर्न शनिबार मात्रै ‘नेपाल मास्क अभियान’ घोषणा गरिसकेको छ ।