Logo

बागमती पेज

श्रावण ३१, २०७८ आईतबार

अफगानिस्तानबाट आफ्ना नागरिक तत्काल फिर्ता गराउन सरकारसँग आग्रह


सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेताहरुले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सत्तारुढ दल नेपाली काँग्रेसका नेता रमेश लेखक र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता डा. राजन भट्टराईले अतिवादी समूह तालिवानले अफगानिस्तानमा तनावग्रस्त बनाइरहेका बेला नेपाली नागरिकहरुको उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन गम्भिर भइदिन सरकारको ध्यानाकर्षण गराएका हुन् । आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सत्तारुढ दल नेपाली काँग्रेस नेता एवम् पूर्वमन्त्री लेखकले नेपाली नागरिकहरुलाई सुरक्षित ढंगले स्वदेश फिर्ता गराउन जिम्मेवार भईदिन सरकारसँग आग्रह गरे ।

उनले अफगानिस्तानमा ठूलो संख्यामा नेपालीहरु रहेको उल्लेख गर्दै उनीहरुको जीवन सुरक्षा गर्न सरकारलाई संवेदनशील भइदिन पनि पटकपटक आग्रह गरे ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका विदेश विभाग प्रमुख डा. भट्टराईले अफगानिस्तानबाट ढिला नगरी नेपाली नागरिकको स्वदेश फिर्ता गराउने काममा लाग्न सरकारसँग माग गरे । द्वन्द्व र हिंसाको चपेटामा परेका आफ्ना नागरिकको जीवन रक्षा गर्ने काममा सरकार जिम्मेवार हुनुपर्ने पनि बताए । परराष्ट्रविद् समेत रहेका डा. भट्टराईले अफगानिस्तानमा हिंसा अन्त्य र छिटो शान्ति पुनर्बहालीको माग समेत गरे ।

उता, परराष्ट्रविद् डा. निश्चल नाथ पाण्डेले पनि अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारमा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराए ।

परराष्ट्रविद् पाण्डेले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य भएको नाताले नेपालको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा भएको हिंसा अन्त्यका लागि पहल गर्न ढिलाई गर्न नहुनेमा पनि जोड दिए ।