Logo

बागमती पेज

आश्विन २८, २०७८ बिहीबार

कोलकाता आइपिएलको फाइनल प्रवेश‚ चेन्नईसँग भेट


कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल)को जारी सिजनमा फाइनल यात्रा पक्का गरेको छ। तेस्रो पटक आइपिएलको फाइनल पुगेको कोलकाताले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्समाथि तीन विकेटको रोमाञ्चक जित निकाल्न सफल भयो।

पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३५ रन बनाएको थियो। जवाफमा कोलकाताले अन्तिम बल बाँकी छँदा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। कोलकतालाई जितका लागि अन्तिम ६ बलमा ७ रन आवश्यक परेको थियो। जहाँ स्पिनर रविचन्द्रन आश्विनले कसिलो बलिङ गर्दै कोलकातालाई अप्ठेरोमा पारेका थिए।

उनले पहिलो बलमा एक रन दिँदा दोस्रो डट तथा तेस्रोमा सकिब अल हसनलाई शून्यमा एलबिडब्लू आउट गराएभने चौथो बलमा सुनिल नारायनलाई आउट गर्दै खेल दिल्लीकै पक्षमा ढालेका थिए। अन्तिम दुई बलमा ६ रन चाहिँएको अवस्थामा पाँचौं बलमा राहुल त्रिपाठीले छक्का प्रहार गर्दा दिल्ली पराजित भयो भने कोलकाताले रोमाञ्चक जित निकाल्यो।

कोलकताको जितमा बायाँ हाते युवा ओपनर वेंकटेश ऐरले ५५ रनको अर्धशतकीय इनिङ खेले। राहुल त्रिपाठी ११ बलमा १२ रनमा अविजित रहे। त्यसअघि अन्तिम १८ बलमा ११ रन आवश्यक पर्दा कोलकता हातमा ७ विकेट थियो। यद्यपि‚ १८ औं ओभरमा कागिसो रबाडाले एक रन खर्चेर एक विकेट लिए। १९ औं ओभरमा एनरिच नोर्कियाले तीन रन खर्चेर १ विकेट लिएपछि खेल रोचक बनेको थियो।

दिल्लीका कागिसो रबाडाले दुई विकेट लिए। त्यस्तै‚ रविचन्द्रन आश्विनले दुई विकेट लिंदा एनरिच नोर्कियाले दुई विकेट लिए। आवेश खानका नाममा एक विकेट रह्यो।

त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३५ रनको सामान्य स्कोर बनायो। दिल्लीका ओपनर शिखर धवनले ३६ रनको योगदान दिंदा श्रेयस ऐरले ३० रन जोडे।

दिल्ली लिगमा १४ खेलमा २० अंकका साथ शीर्ष स्थानमा रहेको थियो कोलकाताले भने १४ खेलमा १४ अंकका साथ नेटरनरेटमा मुम्बई इन्डिन्सलाई पछिपार्दै एलिमिनेटर खेलेको थियो।

कोलकताले २०१२ को फाइनलमा चेन्नईलाई ५ विकेटले हराउँदै उपाधि जितेको थियो। २०१४ को फाइनलमा पन्जाब किंग्सलाई ३ विकेटले पराजित गर्दै च्याम्पियन बनेको थियो। कोलकता तेस्रो र चेन्नई चौथो पटक च्याम्पियन बन्ने दाउमा रहने छन्। एजेन्सी ।