Logo

बागमती पेज

कार्तिक २२, २०७८ सोमबार

इन्दिराको ह्याट्रिक मद्दतमा रोङ क्वार्टरफाइनल प्रवेश


काठमाडौं । राष्ट्रिय टोलीकी सदस्य इन्दिरा राईको ह्याट्रिक मद्दतमा इलामको रोङ गाउँपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा अन्तिम आठमा प्रवेश गरेको छ ।

सोमबार एन्फा मैदानमा भएको दोस्रो खेलमा रोङ गाउँपालिकाले दाङको तुलसीपुर उपमहानगरपालिकालाई ४-१ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको हो ।

रोङको जीतमा राष्ट्रिय टोलीकी सदस्यसमेत रहेकी इन्दिरा राईले ह्याट्रिक पूरा गरिन् । कप्तान अनिता राईले १ गोल गरिन् ।

विभागीय त्रिभुवन आर्मी फुटबल क्लबबाट रोङ पुगेकी इन्दिराले खेलको २९, ४५ पछि थपिएको एक मिनेट र ५८ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै, कप्तान अनिताले खेलको ४० मिनेटमा गोल गरिन् ।

यता, तुलसीपुरका लागि ममता पुन मगरले खेलको ६८ मिनेटम सान्त्वना गोल गरिन् ।

रोङमा राष्ट्रिय टोलीकी इन्दिरासहित दीपा राई र विमला बिक रहँदा एपीएफकी गोलरक्षक रूपा राना मगर रहेकी थिइन् ।

अब रोङले अन्तिम ४ प्रवेशका लागि समूह ‘आई’को विजेता कैलाली गौरीगंगा नगरपालिकासँग खेल्नेछ ।