Logo

बागमती पेज

मंसिर ७, २०७८ मंगलबार

महिला टी–२० विश्वकप छनोट : नेपालको पहिलो जित, भुटान ८ विकेटले पराजित


काठमाण्डाै‌ । आइसिसी महिला टी–२० विश्वकप क्रिकेटको एसिया छनोटमा नेपाली महिला क्रिकेट टोलीले पहिलो जित दर्ता गरेको छ।

युएईको दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीमा आज (मंगलबार) भुटानलाई ८ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो।

पहिलो खेलमा हङकङसँग ६ विकेटबाट पराजित नेपालले भुटानविरुद्धको खेल सहजै जितेको थियो। भुटानले दिएको ६२ रनको झिनो लक्ष्य नेपालले ८ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा इन्दु वर्माले अविजित १८ रनको योगदान गर्दा सीता राना मगरले १७ रन र कप्तान रुबिना क्षेत्रीले १० रन जोडिन्। कविता जोशीले ८ रन बनाइन्।

यसअघि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर मात्र ६१ रन बनाएको थियो। भुटानको पाली ध्वस्त पार्ने क्रममा सीता राना मगरले सर्वाधिक ३ विकेट लिइन्।

यो जितसँगै नेपालले २ खेलमा २ अंक जोडेको छ। भुटानको पनि २ खेलमा २ अंक नै छ। भुटानले पहिलो खेलमा कुवेतलाई ४० रनले पराजित गरेको थियो।

६ टिम सहभागी छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ। छनोट अन्तर्गत तेस्रो खेलमा नेपालले पर्सी बिहीबार कुवेतसँग खेल्नेछ।