Logo

बागमती पेज

पुस ३, २०७८ शनिबार

लोकतन्त्र संरक्षणमा शिक्षकको भूमिका आवश्यक : नेता पोखरेल


काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलले देशमा लोकतान्त्रिक व्यवस्था स्थापना गर्न शिक्षकको महत्वपूर्ण योगदान रहेको बताउँदै लोकतन्त्र संरक्षणमा समेत शिक्षकको भूमिका आवश्यक रहेको बताएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन दोलखा शाखाको १३ औं जिल्ला अधिवेशनलाई चरिकोटमा सम्बोधन गर्दै शिक्षकले प्रत्यक्ष राजनितिमा संलग्न हुन कानुनले रोकेको भएपनि शिक्षकको भूमिका बिना देशमा स्थापित व्यवस्था संरक्षण हुन नसक्ने नेता पोखरेलको भनाई छ ।

देशमा बहुदलिय व्यवस्था र लोकतन्त्र स्थापनाका लागि शिक्षकले पञ्चायत कालदेखि नै वैचारिक आन्दोलनमा सहभागि हुँदा समेत विभिन्न क्षेत्रबाट प्रहार गरिएको भएपनि शिक्षकले योगदान गरेकोमा पोखरेलले नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रसंशा गरेका थिए ।

जननिर्वाचित संसदबाट बनेको नेपालको हालको संविधानमा रहेका प्रगतिशील व्यवस्था पूर्वराजा तथा छिमेकी मुलूक भारत र अमेरिका जस्ता पुँजीवादी देशहरुलाई मन नपरेको हुँदा संविधानमा भएका राम्रा प्रावधानहरुको बारेमा आम नागरिकहरुलाई शिक्षकले पढाउनपर्ने धारणा व्यक्त गरेकाहुन् ।