Logo

बागमती पेज

पुस २०, २०७८ मंगलबार

सिन्धुलीको खुर्कोटमा यातायात कार्यालय स्थापना हुने


सिन्धुली । सिन्धुलीको खुर्कोटमा यातायात कार्यालय स्थापना हुने भएको छ । यातयात कार्यलय स्थापना भएपछि यातायात सम्बन्धी सम्पुर्ण काम खुर्कोटमै हुने भएको हो ।

गोलन्जोर गाउँपालिका-७ खुर्कोटमा केही हप्ताभित्र यातायात कार्यालयको स्थापना गर्ने बागमती प्रदेश सांसद राजन दाहालले जानकारी दिए । यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालय स्थापनाको लागि आवश्यक स्थानको अवलोकन समेत गरेका छन् । खुर्कोटमा यातायात कार्यालय स्थापनाको लागि अनुरोध गरे अनुसार सो स्थान अवलोकन गर्न मन्त्री आएको सांसद राजन दाहालको भनाई छ ।

जिल्लामा यातायत कार्यालय नहुँदा जिल्लाबासीहरु समस्यामा परेका छन् । हा सिन्धुलीबाट सवारी साधन पास गर्न, कर तिर्न, सवारी अनुमती पत्र बनाउन, नविकरण गर्न जनकपुर, बर्दिवास तथा काठमाडौंमा समेत धाउने गरेका छन् ।

यातायात कार्यालय स्थापनाको लागि आवश्यक जग्गा गोलन्जोर गाउँपालिकाले व्यवस्थापन गर्ने भएको छ । उक्त जग्गा गाउँपालिकाले निःशुल्क रुपमा उपलब्ध गराउने भएको गोलन्जोर-७ का वडाध्यक्ष रोमबहादुर देवकोटाले जनाएका छन् ।

वडाध्यक्ष देवकोटाले बागमती पेजसँग भने ‘हामीले यातायात कार्यालय स्थापनाको लागि आवश्यक जग्गा निःशुल्क उपलब्ध गराउने भएका छौं, यस विषयमा पालिकामा आवश्यक छलफल भईसकेको छ ।’