Logo

बागमती पेज

माघ १२, २०७८ बुधबार

राष्ट्रिय सभा चुनाव आज: सबै प्रदेशमा गठबन्धनको प्यानल, मधेसमा एमाले र लोसपाको तालमेल


काठमाडौं । राष्ट्रिय सभामा फागुनबाट रिक्त हुने १९ पदका लागि सातै प्रदेशमा आज मतदान हुँदै छ । प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, वाग्मतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी रिक्त हुने जम्मा १९ पदका लागि आज मतदान हुन लागेको हो ।

आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगत्तै मतगणना गर्ने आयोगको तयारी छ ।

सात प्रदेशमा आठ मतदानस्थल र १४ मतदान केन्द्रको व्यवस्था गरिएको छ । कोरोना महामारीलाई लक्षित गरेर स्वास्थ्य सुरक्षा मापदण्डमा कडाइ गर्दै मतदान हुने आयोगले जनाएको छ । राष्ट्रिय सभा चुनावमा प्रदेश सभा सदस्य तथा पालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउनेछन् ।

आयोगकाअनुसार पालिकाका १४ सय ९३ जना र प्रदेश सभाका ५ सय ३२ जना गरेर २ हजार २५ जना मतदाता छन् । प्रदेश सभा सदस्यको मतभार ४८ र गाउँपालिका तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी नौ दलका ४३ जनाले उम्मेदवारी दिएका छन् । राष्ट्रियसभा चुनावमा सत्ता गठबन्धनमा रहेका पाँच दलले प्यानल नै बनाएर उम्मेदवार दिएका छन् ।

एमालेका खाली हुने आठ सिटमा गठबन्धन दलले भागबण्डा गरेका हुन् । एमालेले सातै प्रदेशमा आफ्ना उम्मेदवार अघि सारेको छ । मधेस प्रदेशमा भने एमाले र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० बीच तालमेल भएको छ ।

आउँदो फागुन २० गतेदेखि एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुने भएकाले चुनाव गर्न लागिएको हो । राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।