Logo

बागमती पेज

बैशाख १३, २०७९ मंगलबार

महामन्त्री थापालाई धक्का: सामूहिक राजीनामाले काठमाडौं कांग्रेसमा तरङ्ग


काठमाडौँ । ठुलो रस्साकस्सीका बिच नेपाली कांग्रेसले बुढानीलकण्ठ नगरपालिकामा वडादेखि मेयर र उपमेयरको टुङ्गो लगाएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बुढानीलकण्ठ दर्जन हाराहारी मेयरमा आकांक्षी थिए ।

पहुँच र प्रभावको आधारमा अन्तिम आवरमा नाम टुङ्गो लाग्यो । तर, सच्चा कार्यकर्तालाई लागि भने नमज्जाले भित्री चोट पुगेको छ । त्यसकै एक उदाहरण बन्यो बुढानीलकण्ठ नगरको वडा नम्बर ११ का सक्रिय नेताहरूको सामूहिक राजीनामा ।

उम्मेदवार चयनमा मनोमानी भएको भन्दै आजै वडा नम्बर ११ का क्रियाशील सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् ।

बुढानीलकण्ठ नगरपालिकामा वडा नम्बर ११ लाई कांग्रेसको गढको रूपमा बुझिन्छ । सोही स्थानबाट सोमबार सन्ध्याकालीन समयमा सामूहिक रूपमा ३८ जना क्रियाशील सदस्यहरूले राजीनामा गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसका महामन्त्री समेत रहेका गगन कुमार थापाको निर्वाचन क्षेत्र अन्तर्गत पर्दछ बुढानीलकण्ठ नगरपालिका । सोही नगरपालिकाको वडा नम्बर ११ मा पर्ने पैयुटारलाई थापा सहित नगर पार्टी पङ्क्तिबाट सौताको व्यवहार भए पछि टुलुटुलु हेरेर बस्न सक्ने अवस्था आएन त्यस पछि पार्टी परित्याग गरेको नेता तथा कार्यकर्ताले बताएका छन् ।

०७० सालको सङ्घीय चुनावमा सभासद् सुप्रभा घिमिरेलाई ओभरटेक गर्दै गगन थापाले क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सांसदमा उम्मेदवार टिकट लिँदा घिमिरेले बागी उम्मेदवारी दिएकी थिइन् । सो समय यस्तो सङ्ख्यामा पार्टी परित्याग भएको थिएन । सम्भवतः गगनको चुनावी क्षेत्रमा यही नै पहिलो घटना बनेको छ । यसले स्थानीय तहको निर्वाचनमा मात्र नभई आगामी हुने सङ्घीय चुनावमा समेत गगनलाई ठुलो धक्का लाग्ने आकलन गरिएको छ ।