Logo

बागमती पेज

बैशाख १५, २०७९ बिहीबार

केपी ओलीलाई गगनको जवाफ : बालकोट गएर ट्युसन पढाउन चाहन्छु


काठमाडौं । काँग्रेस महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले झुटको पर्दाफास सुन्न नसकेको बताएका छन् । ओलीले काँग्रेसको चुनावी संकल्पलाई ओलीले बकवास र पागलहरूको प्रलाप भनेर टिप्पणी गरेपछि गगनले पनि जवाफ फर्काएका हुन् ।

‘सुरुमै हामीले के के गर्नुभयो भनेर खेर गएको ५ वर्ष भनेर लेखेका छौँ । ५ वर्ष खेर गएको ठाउँमा स्तुति गान गाउन त भएन’, बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘उहाँले एकपछि अर्को झुटको पर्दाफास काँग्रेसले गरेको कुरा सहन सक्ने कुरा भएन । सनक्क सन्कनुभयो ।’

ओलीलाई रिस उठ्यो भन्दैमा काँग्रेसले कालोलाई सेतो र गलतलाई सही हो भनेर नभन्ने उनले बताए । उनले भने, ‘बुढा भा धेरै सनक्क सन्किँदा कहिलेकाहीँ शरीरलाई अप्ठ्यारो पर्न सक्छ । आइराख्छ यो त काँग्रेसले झूटलाई झूट त भनिराख्ने भयो । त्यसकारण शरीरको ख्याल गरिराख्नुहोला ।’

उनले महाधिवेशनको बेलामा पनि ओलीले आफूलाई समुन्नत नेपालको चोरीको आरोप लगाएको उल्लेख गर्दै आफूले उनलाई बालकोट नै गएर ट्युसन पठाउन चाहेको बताए । उनले केपी ओलीलाई लजिक नभइ म्याजिकमा विश्वास रहेको बताए ।

‘अस्ति नै मेरो चुनाव लड्दै गर्दा महाधिवेशनको बेलामा पनि उहाँले समुन्नत नेपाल भन्ने अवधारणा अघि सार्दै गर्दा मेरो आइडिया चोर्यो भन्नुभएको थियो । हिजो पनि चोर्यो चोर्यो भन्नुभएन’, उनले भने, ‘पार्टीको अध्यक्ष उहाँलाई पनि दौडधूप छ । मलाई पनि आफ्नै भ्याइनभ्याइ छ । अलिकति भ्याएको बेलामा चाहिँ बालकोट नै गएर ट्युसन पढाउँथे । यो मेरो समृद्धिको आइडिया कसैले चोरेर लग्देला भनेर अनिदो नबस्नुस् ।’

केपी ओलीको मुखमा अँगार छ, उनले ओकल्ने कालै हो
थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख छाड्नु नयाँ कुरा नभएको बताए​ । उनले ओली कालो मन भएको मान्छे भएकाले उनले अरुलाई अनावश्यक आरोप लगाउनु सामान्य भएको बताए ।

‘जसको मुखमा अँगार छ । उसले ओकल्ने कालै हो’, बुधबार आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘मैले भने यो कुनै नयाँ कुरा होइन । म त पार्टीको कार्यक्रममा थिएँ । त्यसपछि उहाँहरुले भन्नुभयो । तपाईँलाई त उहाँले पागल भन्नुभयो । मैले भनेँ ठीक छ । मैले फेरि हाम्रो टिमको साथीलाई फेरि भनेँ तपाईँलाई याद छ ? केपी ओलीले ककसलाई पागल भन्नुहुन्छ ? केपी ओलीले झुट बोल्नुहुन्छ । कोही आँट भएको मान्छे आएर तपाईं छुट बोल्दै हुनुहुन्छ भन्यो भने उहाँले पागल भन्नुहुन्छ ।’​