Logo

बागमती पेज

जेष्ठ १७, २०७९ मंगलबार

ओलीलाई बालेन साहले भेटेको तस्बिर सार्वजनिक


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको तस्बिर सार्वजनिक भएको छ । मंगलबार एमालेका नेताहरुमार्फत ओली र साहबीच भेटवार्ताको तस्बिर सार्वजनिक गरिएको हो ।

ओली सचिवालयले बालेन केही दिनअघि नै ओलीलाई भेट्न बालकोट पुगेपनि मिडियामा यो विषय बाहिर ल्याइएको थिएन । सार्वजनिक तस्बिरमा सेतो कुर्ता पहिरिएका ओलीले सुट प्यान्टमा बालकोट पुगेका बालेनलाई स्वागत गरेर खादा लगाइदिएको देखिन्छ ।

बालेन स्वतन्त्रबाट उम्मेदवारी दिएर काठमाडौंको मेयर निर्वाचित भएका थिए । उनको निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सिर्जना सिंह रहेकी थिइन् भने एमालेबाट उम्मेदवार बनेका केशव स्थापित भने तेस्रो बनेका थिए । काठमाडौं महानगरपालिकाको उपमेयरमा भने एमालेबाट सुनिता डंगोल निर्वाचित भएकी थिइन् ।

बालेन र ओलीबीच बालकोटमा भएको भेटको तस्बिर यतिबेला सामाजिक सञ्चालनमा चर्चाको विषय बनेको छ ।