Logo

बागमती पेज

असार १, २०७९ बुधबार

दोलखामा जिसस निर्वाचनः प्रमुखमा गठबन्धन तर्फका घतानी र उपप्रमुखमा शेर्पा निर्वाचित


काठमाडौँ । जिल्ला समन्वय समिति जिसस दोलखाको प्रमुखमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका बर्जुराम घतानी निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्मेदवार ऋषिकेश उप्रेतिलाई पराजित गर्दै घतानी जिसस प्रमुखमा निर्वाचित भएका हुन् । जिसस प्रमुख निर्वाचित घतानीले ११ मत प्राप्त गरेका छन् भने उप्रेतिले ७ मत मात्रै प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका दोर्जी शेर्पा निर्वाचित भएका छन् ।

जिससको सदस्यमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका कृष्ण श्रेष्ठ, कल्पना थामी, अनिल तमाङ, निलम ठकुरी, मेनुका चौंलागाई, सन्तेन्जु शेर्पा र टसि शेर्पा निर्वाचत भएका छन् । मुख्य निर्वार्चन अधिकृतको कार्यालयमा केहीवेर अघि सम्पन्न भएको मतदानको मतपरिणाम सार्वजनिक भएको हो । निर्वाचनमा गठबन्धन दल र एमालेका १९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

जिससको नेतृत्वका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीचको गठबन्धन दल र एमालेबीच प्रतिस्पर्धा भएको थियो । दोलखाका ९ वटा स्थानीय तहका प्रमुख उपप्रमुख गरी १८ जनाले जिससको पदाधिकारी चयन गर्न मतदान गरेका थिए ।

यो सँगै नेकपा एमाले जिल्ला समन्वय समितिको नेतृत्वबाट बाहिरिएको छ । जिससमा नेकपा एमालेका एक जना पनि उम्मेदवार निर्वाचित नभएका हुन् । जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुख र ७ जना सदस्य गरी जम्मा ९ जना पदाधिकारी रहने व्यबस्था छ ।