Logo

बागमती पेज

असार २, २०७९ बिहीबार

दोलखाको विकास निर्माणका योजनाका लागि बागमती प्रदेश सरकारको तर्फबाट बजेट विनियोजन


बागमती प्रदेश सरकारले दोलखामा ३ वटा विकास निर्माणको योजनालाई महत्वका साथ बजेट विनियोजन गरेको छ ।

बागमती प्रदेश सरकारले जिरी ताल सहित दुई मुख्य सडक आयोजनालाई महत्वमा राख्दै बजेट विनियोजन गर्नुका साथै अन्य योजनाहरुलाई पनि समेटिएको हो । प्रदेश सरकारले मुख्य ३ योजना सहित जिल्लाका ७ वटा विकास निर्माणका योजनाहरु समेटेको छ । बागमती प्रदेश सरकारले हिजो आगामी आर्थिक वर्षको लागि ७० अर्व ९३ करोड रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको थियो ।

सो क्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा दोलखा जिल्लालाई सडक पुर्वाधार, स्वास्थ्य र पर्यटन क्षेत्रमा बजेट विनियोजन गरिएको छ । जसअनुसार बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा जिरीस्थित जिरी ताल निर्माणका लागि १५ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै मन्त्री जम्मकट्टेलले जिरी क्षेत्रको एकिकृत गुरुयोजना कार्यान्वयन गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने र जिरीमा मानव निर्मित पर्यटकीय ताल निर्माण गर्न १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

बागमती प्रदेश सरकारले प्रदेशको पर्यटन विकासका लागि १ अर्ब ८६ करोड ९१ लाख रुपैयाँ बजेट विनियोजन गर्दा जिरी ताल निर्माणको लागि पनि १५ करोड बजेट परेको हो । यसैगरी, जिल्लाको लामाबगर हुँदै चीनको सीमाना जोड्ने सडक निर्माण तथा स्तरोन्नति गर्न १० करोड रुपैयाँ विनियोजन गरिएको छ भने प्रदेशबाट काभ्रेपलाञ्चोकको राम्चेदेखि दोलखाको खरिढुंङ्गा जोड्ने चौरी राजमार्ग निर्माणका लागि ५ करोड बजेट विनियोजन भएको छ ।