Logo

बागमती पेज

असार ११, २०७९ शनिबार

काठमाडौंमा दुईजना महिलाको शव फेला…


काठमाडौं : काठमाडौंको नेपालटारमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। शनिबार काठमाडौं महानगरपालिका नेपालटारस्थित एक घरमा भाडामा कोठा लिएर बसेकी एक महिलाको शव फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

सुर्खेत घर भई दिल माया विश्वकर्मा भन्ने महिलाको शव फेला परेको हो। उनी खाटमै सुतेको अवस्थामा मृत फेला परेकी हुन्। घटनाबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।

कलंकीमा एक महिलाको हत्या
काठमाडौंको कलंकीमा एक जना महिलाको हत्या भएको छ।

शनिबार एक महिलाको हत्या भएको प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले जानकारी दिए। उनीमाथि ढुंगाले हिर्काएर हत्या भएको हो।

कलंकीको फुटपाथमा तरकारी बेच्ने अन्दाजी ३७ वर्षीय मेनुका उप्रेतीमाथि बिहान करिब ८ बजेतिर ढुंगा प्रहार भएको हो। टाउकोमा ढुंगा प्रहार हुँदा उनलाई नेपाल नेशनल अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले हत्या आरोपमा एक जना पुरूषलाई पक्राउ गरेको छ। उनलाई प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको हो। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।